काठमाडौं – लामो समयदेखि पत्रकारिता र समाजसेवामा सक्रिय रहेका अग्रज सञ्चारकर्मी नवराज बजगाईलाई शनिबार एकै दिन दुई फरक स्थानमा सम्मान प्रदान गरिएको छ।
बजगाईलाई पहिलो सम्मान नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो महाधिवेशनको अवसरमा काठमाडौंको बबरमहलस्थित साप फल्चामा आयोजित कार्यक्रममा प्रदान गरियो। संघका केन्द्रीय अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डे, प्रमुख सल्लाहकार डा. चुडादेव सिं लामा, र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक भिम ढकाललगायतले उनलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे। उक्त सम्मानपत्रमा बजगाईले समाज रूपान्तरणमा पुर्याएको योगदानको विशेष उल्लेख गरिएको थियो।
त्यसै दिन धुलिखेलको मिरावल रिसोर्टमा आयोजित अर्को कार्यक्रममा पनि बजगाईलाई सम्मान गरियो। नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले आयोजना गरेको तिज विशेष कार्यक्रममा पत्रकारीता र समाजसेवामार्फत बजगाईले समाजमा पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै सांस्कृतिक शाखाका प्रमुख रामकृष्ण पोख्रेलले उनलाई सम्मान प्रदान गरेका थिए।
यसअघि, भदौ १ गते थाइल्याण्डको बैंककमा आयोजित गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा पनि बजगाईलाई सम्मान गरिएको थियो। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर निवासी बजगाई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् र उनी काभ्रेका विभिन्न सञ्चार संस्थाहरूमा प्रमुख भूमिकामा छन्। सामाजिक कार्यमा पनि निरन्तर क्रियाशील रहेका बजगाईलाई यसअघि पनि विभिन्न संघ संस्थाहरूबाट सम्मानित गरिसकिएको छ।
- Jigyasa media