काठमाडौं — देशका विभिन्न भू–भागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने आंशिक बदली रहनेछ।
राति वर्षा र हिमपातको सम्भावना
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
राति कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
यसैबीच, देशका तराई भू–भागमा राति आंशिक बदली रहने तथा बिहानपख केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
-
Jigyasanepal