कात्तिक ३, झापा – पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-५ स्थित रबी पेट्रोल पम्प अगाडि शनिबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित भीडले बसमा आगजनी गरेको छ।
दुर्घटना मोरङ केराबारी गाउँपालिका-७ निवासी ५५ वर्षीय पदम मुकारुम राईको मृत्यु भएपछि भएको हो। प्रदेश १-०१-००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।
दुर्घटनापछि आक्रोशित भीडले बसमाथि ढुङ्गामुढा गर्नुका साथै बसमा आगजनी गरेको थियो। झ्यालका सिसाहरू फुटाइएका र बसको अगाडि भागमा आगो लगाइएको प्रहरीले जनाएको छ।
घटनालाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो। दुर्घटनाका कारण पूर्व पश्चिम राजमार्ग केही समय अवरुद्ध बनेको भए पनि वैकल्पिक मार्गमार्फत सवारी आवतजावतको व्यवस्था गरिएको छ।
बस चालक सञ्जय नेपालीलाई नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको बताइएको छ।
- Jigyasa media