महोत्तरी – अनुहार जलाएर महिलाको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र उनकी श्रीमती रिना देवी महरा रहेका छन्। उनीहरूले धनुषा, गणेशमान चारनाथ नगरपालिकाकी २६ वर्षीय लक्ष्मीनियाँ देवी मण्डलको हत्या गरेको आरोप लागेको छ।
प्रहरी अनुसन्धानअनुसार राकेशले विवाहोत्तर सम्बन्ध कायम गरेपछि उत्पन्न तनावले हत्या भएको पुष्टि भएको छ। रिनासँग लामो समयदेखि सन्तान नभएपछि राकेश र मृतक लक्ष्मीनियाँबीच सम्बन्ध बनेको थियो, जसलाई लुकाउनकै लागि लक्ष्मीनियाँको हत्या गरिएको प्रहरी भनाइ छ।
प्रहरीका अनुसार, लक्ष्मीनियाँको हत्या गरि अनुहार जलाएर फरार हुने क्रममा राकेश र रिनालाई स्थानीय बगैँचाबाट पक्राउ गरिएको हो। प्रहरी निरीक्षक विशाल सिंहले राकेश दम्पतीले हत्या अभियोग स्वीकार गरेको जनाएका छन्। थप अनुसन्धान भइरहेको छ।
राकेश र रिनाको विगत पाँच वर्षदेखि भारतका विभिन्न शहरमा मजदुरी गरिरहेका थिए। नेपाल फर्किएपछि रिनालाई घरमै छोडेर राकेश कामका लागि बाहिर जाँदा, उनी र लक्ष्मीनियाँबीचको सम्बन्ध गहिरिँदै गएको थियो। अन्ततः कानुनी अंश माग गर्न थालेपछि हत्या गरेको प्रहरीलाई बयानमा उल्लेख गरेका छन्।
- Jigyasa media