सिमरा । बैंकबाट रकम निकालेर घर जाँदै गरेका जेष्ठ नागरिकलाई लुटेर फरार भएका चारजनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सबै भारतीय नागरिक रहेका छन्।
असोज १ गते कलैया उपमहानगरपालिका-१ स्थित प्रभु बैंकबाट ५० हजार रुपैयाँ झिकेर घर फर्किँदै गरेका बलिरामपुरका एक वृद्धलाई चक्कु देखाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत, बिहारको पश्चिम चम्पारणका ४३ वर्षीय सुरेश प्रसाद बानियाँ, ४५ वर्षीय शर्मा मुखिया, ३५ वर्षीय शैलेश तिवारी, र मोजफरपुरका ३४ वर्षीय रवि दास रहेका छन्।
प्रहरीले पीडित परिवारले दिएको जाहेरीका आधारमा खोजी थालेको थियो। चारैजना पुनः अर्को लुटपाटको योजना बनाइरहेको अवस्थामा कलैया क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।
प्रहरीले उनीहरूका साथबाट भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
- Jigyasa media