भदौ १९, २०८१, गुलरिया । बर्दियामा भारतबाट गहना र लागुऔषधसहित नेपालतर्फ आउँदै गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीले बढैयाताल गाउँपालिका-७, कर्णालीपुरस्थित कण्ठपुर बीओपी चेकपोष्टमा मोटरसाइकलमा सवार मधुवन नगरपालिका निवासी २९ वर्षीय विनोद सुनार र ३२ वर्षीय हरीबहादुर विकलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरू भे.१२.प. ३३६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै थिए। सशस्त्र प्रहरीले उनीहरूको साथबाट शुद्धतौल ९४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र गरगहना बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरी चौकी कालिका, बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिएका छन्।
- Jigyasa media