पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङ डाडागाउँ टोलमा बिहीबार भएको विस्फोटमा परी दुई बालबालिकाको ज्यान गएको छ। घटना हुँदा गम्भीर घाइते भएका दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र साढे दुई वर्षीया छोरी प्रिन्साको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
विस्फोटमा माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, दिलिप साँवाका छोरा दिप्सन, र छोरी प्रिन्सा घाइते भएका थिए। बालबालिकालाई तुरुन्तै पाँचथर अस्पतालमा पुर्याइए पनि गम्भीर अवस्थाका कारण झापाको बीएन्डसी अस्पताल रेफर गरिएको थियो। उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाममा र दिप्सनको राति १ बजे झापा पुर्याउँदा मृत्यु भएको थियो।
प्रहरीका अनुसार, पवनको पाँचथर अस्पतालमै उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घरेलु ग्रिनेड पड्केर बालबालिका घाइते भएको आशंका गरिएको छ। घटनास्थलमा अर्को शंकास्पद वस्तु फेला परेको छ, जसलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्न शुक्रबार बिहान घटनास्थलमा पुगेको छ।
घटना भएको घर माओवादी कार्यकर्ता आइतराज केरुङको हो, जहाँ ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो। बम द्वन्द्वकालको हुन सक्ने आशंका गर्दै स्थानीयले अनुसन्धानमा सहयोग गरिरहेका छन्। प्रहरीले विस्फोटको स्रोत र जिम्मेवारीबारे थप अनुसन्धान गरिरहेको छ।
- Jigyasa media