वीरगंज।
वीरगन्ज महानगरपालिकाले लामखुट्टेको प्रकोप बढेसँगै ३२ वडामै विषादी छर्ने योजना बनाएको छ। महानगरपालिकाको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँका अनुसार, कार्तिक १ गतेदेखि लामखुट्टेको नियन्त्रणका लागि विषादी छर्ने कार्य सुरु हुनेछ। यस कार्यमा लामखुट्टेको लार्भालाई मार्न एयर स्प्रे र पम्प स्प्रेको प्रयोग गरिनेछ।
चिसो मौसम सुरु हुँदै गर्दा लामखुट्टेको संख्यामा वृद्धि भएको छ, जसले डेंगु र मलेरिया जस्ता रोगको जोखिम बढाएको छ। यसलाई ध्यानमा राखी महानगरले दैनिक तालिका बनाएर सबै वडामा विषादी छर्ने योजना गरेको हो। यो अभियान कार्तिक २८ गतेसम्म चल्नेछ।
वीरगन्जका मेयर राजेशमान सिंहले नगरवासीलाई सुरक्षित राख्न विषादी छर्ने कामलाई तीव्रता दिन निर्देशन दिएकाछन्।
- Jigyasa media