Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

१० वर्षमा हावाहुरीका १५१९ घटना, १०१ जनाको मृत्यु

  •   ३ महिना अघि | १७ बैशाख २०८३, बिहिबार

काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७३ वैशाख १ देखि २०८२ माघ २५ गतेसम्म कूल १,५१९ वटा हावाहुरीका घटना भएका छन्।

उक्त अवधिमा हावाहुरीका कारण १०१ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। साथै १,५७२ जना घाइते भएका छन् र ८,५०४ परिवार प्रभावित बनेका छन्। हावाहुरीका कारण मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि हुने गरेको तथ्याङ्कमा उल्लेख छ।

विशेषगरी तराई तथा मध्य पहाडी क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिने गरेको विज्ञहरू बताउँछन्। यस अवधिमा हावाहुरीबाट करिब ५३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। त्यस्तै, भारी वर्षाका कारण ११० जनाको र हिउँ–हुरीका कारण १७ जनाको मृत्यु भएको पनि तथ्याङ्कले देखाएको छ।

यसैबीच चालु वैशाख महिनाको १६ गतेसम्म देशभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटिसकेका छन्। ती घटनामा परी ३४ जनाको मृत्यु र १३९ जना घाइते भएका छन्। यस अवधिमा मात्रै ४४ वटा हावाहुरीका घटनाबाट ३१९ परिवार प्रभावित भएका छन् भने करिब ८३ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

जलवायुविद् डा. मनिष पाण्डेका अनुसार जलवायु परिवर्तनका कारण हावाहुरीको प्रकृति र तीव्रतामा परिवर्तन आएको छ। उनले पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले जलवायु जोखिम न्यूनीकरणका लागि अनुकूलन र न्यूनीकरण रणनीतिलाई प्राथमिकता दिँदै पूर्वसूचना प्रणालीलाई अझ व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

  • Jigyasanepal

थप