मोरङ, भदौ २३ - मोरङको सुनवर्षी नगरपालिकामा आइतबार दिउँसो चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका ११ वर्षीय सोफियन आलम मियाँको चट्याङ लागेर मृत्यु भएको हो।
चट्याङका कारण ८ वर्षीया नजारा खातुन घाइते भएकी छन्। उनी राजाबुल आलमकी छोरी हुन्। घटना त्यतिबेला भएको हो जब बालबालिका घरपछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका थिए। दिउँसो करिब २ बजे चट्याङ पर्दा बालबालिका बेहोस भएका थिए। सोफियनलाई तत्काल उद्धार गरी रंगेली अस्पताल पुर्याइए पनि उपचारकै क्रममा २:४५ बजे मृत्यु भएको थियो।
घाइते नजारा खातुनको रंगेली अस्पतालमै उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
- Jigyasa media