Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ

  •   २ महिना अघि | ९ साउन २०८३, शनिबार

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी देशभर श्रद्धा, भक्तिभाव र विशेष पूजा–आराधनासहित मनाइँदै छ। यसै दिन घरघरमा तुलसीको बिरुवा मोठमा सार्ने परम्परासँगै भगवान् विष्णुको चार महिने चतुर्मास व्रत पनि सुरु हुने गर्दछ।

परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा आज विधिपूर्वक तुलसीको मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन रहेको छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनासम्म शयन गर्ने धार्मिक विश्वास भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही चार महिनाको अवधिलाई चतुर्मासका रूपमा मनाइन्छ।

वैदिक परम्पराअनुसार वर्षभर २४ वटा एकादशी पर्छन्। सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशी वा कम्तीमा हरिशयनी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने चलन रहेको छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो, फलफूल तथा अन्य फलाहार ग्रहण गर्ने परम्परा छ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरहरूमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। भक्तजनहरूले भगवान् विष्णुको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गरिरहेका छन्।

धार्मिक महत्वसँगै तुलसीलाई वैज्ञानिक दृष्टिले पनि अत्यन्त उपयोगी वनस्पतिका रूपमा लिइन्छ। तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगका उपचारमा औषधीय गुण प्रदान गर्ने विश्वास छ। तुलसी रहेको स्थानमा नकारात्मक ऊर्जा तथा रोग फैलाउने कीटाणुको प्रभाव कम हुने जनविश्वास पनि रहँदै आएको छ।

चार महिनासम्म नियमित पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन भगवान् **दामोदर (विष्णु)**सँग वैदिक विधिअनुसार विवाह गराइन्छ। त्यसपछि हवन तथा धार्मिक अनुष्ठान गरी चतुर्मास व्रतको समापन गर्ने परम्परा रहेको छ।

हरिशयनी एकादशीले धार्मिक आस्था, प्रकृति संरक्षण, स्वास्थ्य र सांस्कृतिक परम्परालाई एकसाथ जोड्ने महत्वपूर्ण पर्वका रूपमा नेपाली समाजमा विशेष स्थान ओगटेको छ।

  • Jigyasanepal

थप