काठमाडौं, चैत २८ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक उचाइ छोएको छ। एकैदिन ५ हजार ७ सय रुपैयाँले मूल्य बढ्दै आज तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार मात्रै २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज झनै तीव्र रूपमा वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो।
यसअघि तोडिएको रेकर्ड आज फेरि बन्यो
यसअघि चैत्र २१ गते तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य त्यो बेला ऐतिहासिक उच्च बिन्दुमा पुगेको थियो। त्यसपछिका केही दिन सुनको मूल्यमा क्रमिक गिरावट देखिए पनि आज पुनः भारी उकालो लागेको हो।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै चाँदीको भाउमा पनि वृद्धि देखिएको छ। बुधबार प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १ हजार ९ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव
सुन र चाँदीको मूल्यमा आएको यो तीव्र उतारचढाव पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक अस्थिरता, मुद्रास्फीतिको डर, र लगानीकर्ताहरूको ‘सेफ हेवन’ रोजाइतर्फको झुकावसँग जोडिएको बताइन्छ। आगामी दिनमा समेत मूल्य अझै उकालो लाग्ने सम्भावनाको आकलन गरिँदैछ।
- Jigyasa media