काठमाडौं, असार ३० – राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा गत शुक्रबार काठमाडौंको तीनकुनेस्थित मण्डला बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यकारी अध्यक्ष विशाल हुमागाईंको सभापतित्वमा सम्पन्न सभामा कम्पनीका शेयरधनी, सञ्चालक, कर्मचारी, निर्वाचन अधिकृत, सचिव र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रह्यो।
सभामा कम्पनीको स्थापना, प्रगति, योजनाहरू र आगामी रणनीतिहरू प्रस्तुत गरिँदा वातावरण उत्साहजनक बनेको थियो। २०८१ साल बैशाख २७ गते विशाल हुमागाईंसहित २६ जना संस्थापकले स्थापना गरेको कम्पनीले असार ३१ गतेबाट कारोबार अनुमति पाएको हो। हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ रहेको छ र करिब २,२०० जना शेयरधनीहरू आबद्ध छन्।

विकासको दिशामा कम्पनीको प्रगति : अध्यक्ष हुमागाईंको प्रतिवेदन
सभामा बोल्दै अध्यक्ष विशाल हुमागाईंले कम्पनीको छोटो अवधिमा हासिल उपलब्धिहरू प्रस्तुत गरे। उनका अनुसार कम्पनीले :
लालबन्दी र निजगढमा परियोजना विस्तार गरिसकेको छ,
कम्पोस्ट मल र डल्लो च्याउ उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ ।
SupermartNepal.com नामक भर्चुअल कृषि बजार प्लेटफर्म साउन महिनादेखि सञ्चालनमा ल्याइनेछ,
करिब १५ करोड रुपैयाँ लगानी भइसकेको छ,
हालसम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल आर्जन गरिएको छ।
अन्तर्राष्ट्रिय सहकार्य र संस्थागत विस्तार
कम्पनीले हालै श्रीलंकाको प्रतिष्ठित कम्पनी CIC Agribusiness Pvt. Ltd. सँग सहकार्य सम्झौता गरेको छ। यसले प्रविधि, ज्ञान र अन्तर्राष्ट्रिय बजार पहुँचमा उल्लेखनीय बल पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, कम्पनीले जनकपुरमा प्रदेशीय कार्यालय, लालबन्दीमा परियोजना कार्यालय, र वीरगञ्ज, हेटौंडामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ।
सभाले पारित गर्याे वार्षिक प्रतिवेदन र लेखापरीक्षकको नियुक्ति
साधारण सभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्दै आगामी वर्ष २०८१/८२ को लेखापरीक्षकको नियुक्ति समेत गर्यो। साथै, सार्वजनिक सूचना मार्फत प्रस्तुत विविध विशेष प्रस्तावहरू बहुमतले पारित गरिएका छन्।
नयाँ सञ्चालक समिति गठन : विशाल हुमागाईं पुनः अध्यक्ष
साधारण सभामा संस्थापक समूहतर्फबाट तीन जना सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन् – विशाल हुमागाईं, सुदिप सापकोटा, र मैया दुलाल। सञ्चालक समितिको २३औं बैठकको निर्णयअनुसार विशाल हुमागाईंलाई पुनः अध्यक्षमा चयन गरिएको छ।
यस अवसरमा राष्ट्रिय कृषि कम्पनी परिवारले अध्यक्ष हुमागाईंलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।
🌾 कृषि आत्मनिर्भरता र समन्वयकारी अभियानको घोषणासहित अग्रसरता
सभामा अध्यक्ष हुमागाईंले भने,
"कम्पनीलाई केवल व्यावसायिक संस्था होइन, राष्ट्र, कृषक र उपभोक्ताबीचको समन्वयकारी विकास अभियानको रूपमा अघि बढाइनेछ। पारदर्शिता, जवाफदेहीता र दीर्घकालीन सोचका आधारमा कम्पनीलाई नेपालको अग्रणी कृषि कम्पनी बनाउने हाम्रो विश्वास छ।"
कम्पनीको मानव स्रोततर्फ पनि उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। हालसम्म ९ हजारभन्दा बढी आवेदन, जसमा बैंक तथा बीमा क्षेत्रका अनुभवी पेशेवरहरू सहभागी छन्, प्राप्त भएको जानकारी दिइएको छ। राष्ट्रिय कृषि कम्पनी नेपालको यो पहिलो वार्षिक साधारण सभा केवल औपचारिकता मात्र नभई दिगो कृषि विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यतर्फको ठोस पाइला सावित भएको सहभागीको भनाइ छ ।

-
Jigyasanepal