काठमाडौं । माघ ७ गते बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले एकैदिन ऐतिहासिक उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो। अघिल्लो दिनकै मूल्यलाई तोड्दै सुनले नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको छ। बजारमा चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढ्नु, डलरको उतारचढाव र विश्व आर्थिक अनिश्चितताका कारण सुरक्षित लगानीतर्फ आकर्षण बढ्नुले नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर परेको जानकारहरूको भनाइ छ।
लगातार मूल्यवृद्धिका कारण सुन–चाँदी खरिद गर्ने उपभोक्तामा थप बोझ परेको छ भने व्यवसायीहरू बजार अझै अस्थिर रहने सम्भावनातर्फ संकेत गरिरहेका छन्।
-
Jigyasanepal