शुकदेव थपलिया
काभ्रे – पनौती नगरपालिका-९ सुन्थान नौबिसे फाँटमा भएको एक नाटकीय लुटपाट काण्डमा तीनजना अभियुक्त पक्राउ परेका छन्। यो घटना कुनै साधारण चोरी होइन, जसले सबैलाई स्तब्ध बनाएको छ। असोज ३ गते राति करिब ११:३० बजे, १५-१६ जनाको नकाबधारी समूहले ७८ वर्षीय कान्छामान गोलेको घरमा जबरजस्ती प्रवेश गरी लुटपाट गरेका थिए। घटनाले पनौतीमा त्रासको वातावरण सिर्जना गरेको छ।
लुटेराहरूले कान्छामान तामाङ र उनकी श्रीमतीलाई निर्दयी रूपमा हात बाँधेर र मुखमा टेप लगाएर चिच्याउन नसक्ने अवस्थामा राखेका थिए। उनीहरूले घरभित्र रहेको गरगहना र नगद लुटेर अन्धकारको फाइदा उठाउँदै भागे। यस घटनाले स्थानीयलाई आक्रोशित तथा त्रसिद बनाएको थियो, तर प्रहरीको चाँडो सक्रियताले घटनालाई नियन्त्रणमा लिन सफल भएको छ।

असोज ४ गते बिहान ७:४० बजे प्रहरी कार्यालय बनेपामा प्राप्त सूचनापछि, पनौती चौकीको टोलीले तुरुन्तै घटनास्थलमा पुगेर छानबिन थाले। तीव्र अनुसन्धानपछि प्रहरीले लुटपाटमा संलग्न तीनजनालाई पक्राउ गर्न सफल भयो। पक्राउ परेका व्यक्तिहरूमा पनौती नगरपालिका-४ का स्थायी बासिन्दा सरिता तामाङ (३६), खानीखोला गाउँपालिका-२ का विचारमान गोले (४१) र धुलिखेल नगरपालिका-१२ का साङ्गे थोकर (४०) रहेका छन्।
लुटेराहरूले नगद १ लाख ४३ हजार र २ तोलासम्मको सुनका गरगहना, जसमध्ये १ तोला सुनको औंठी, आधा तोलाको ढुङ्ग्री र आधा तोलाको तिलहरी समावेश थिए, लुटेर लगेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान गर्दै लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ। अदालतले पक्राउ परेका अभियुक्तलाई सात दिनको म्याद थप गर्दै अनुसन्धानको अनुमति दिएको छ।
चाड बाड नजिकिँदै गर्दा यो घटनाले स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने आवश्यकता झल्काएको छ।
यस्तै
बनेपामा विदेशी नागरिकमाथि लुटपाट, तीन जना पक्राउ
काभ्रे – बनेपा नगरपालिका-६ भ्युटावरको १६०० सिँढीको बाटोमा असोज ८ गते साँझ दुई विदेशी नागरिकमाथि लुटपाट भएको छ। धुलिखेल अस्पतालमा इन्टर्नसिप गरिरहेका २८ वर्षीय इटालियन नागरिक मार्टिन र २६ वर्षीय जर्मन नागरिक एलेक्स जेन्ड्रा साँझको समयमा 'इभिनिङ वाक' मा निस्कँदा, तीन जनाको समूहले उनीहरूलाई चक्कु देखाई लुटपाट गरेका हुन्।
लुटपाट गर्ने समूहका एकजनाले कानमा मुन्द्रा लगाएको र दुईजनाले साइडमा कपाल खौरिएको प्रहरीले जनाएको छ। तिनीहरूले विदेशी नागरिकहरूको साथमा रहेको आइफोन, स्मार्टवाच, डेबिट कार्ड, क्रेडिट कार्ड लुटी जंगलतर्फ भागेको विवरण प्राप्त भएको थियो।
लुटपाटको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले अपराधीहरूलाई फलो गर्दै बनेपा नगरपालिका-७ उग्रचण्डि पेट्रोल पम्प पछाडिबाट साँझ ७:३५ बजे नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका तीनजनाको साथबाट आइफोन, स्मार्टवाच, दुई वटा चक्कु, र अन्दाजी आधा पाउ जति गाँजा बरामद गरिएको छ।
पक्राउ परेकाहरूको परिचय
1. २० वर्षीय हरी चौधरी, स्थायी घर नवलपरासी, हाल बनेपा नगरपालिका-६ मा सान फर्निचरमा काम गर्ने।
2. १७ वर्षीय सन्देश जैरु, स्थायी घर रामेछाप सुनापाती गाउँपालिका, हाल बनेपा नगरपालिका-९ जनागाल बस्ने।
3. १६ वर्षीय उज्वल दाहाल, स्थायी घर पनौती नगरपालिका-९ सुनथान बस्ने रहेका छन् ।
प्रहरीले लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी र घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
- Jigyasa media