Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

छाउपडी उन्मूलन अभियानकैबीच अछाममा दुःखद घटना :

त्रिपाल टहरामुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

  •   ११ महिना अघि | १४ भदौ २०८२, शनिबार

धनगढी । भदौ १३

अछामको पञ्चदेवल विनायक नगरपालिका–८ चुरखोलीमा शनिबार बिहान भएको घटनाले फेरि एकपटक छाउपडी कुप्रथाको पीडा उजागर गरिदिएको छ। महिनावारी भएका कारण घरभन्दा टाढा त्रिपाल टाँगेर बनाइएको टहरोमा सुतेका बेला माथिबाट खसेको ढुंगाले लागेर ३५ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको मृत्यु भएको हो। सोही घटनामा कविताकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छिन्।

रत्ना र निम दुवै एकै दिन महिनावारी भएकाले उनीहरूले घर छोडेर खेतबारीमा त्रिपालको टहरो बनाएर पाँच दिनदेखि सुत्ने गरेका थिए। भण्डारीकी छोरी कविता पनि आमासँगै सोही टहरोमा सुत्दा उनको समेत ढुंगाले लागेर घटनास्थलमै ज्यान गयो।

छाउगोठ भत्किए पनि परम्पराको डर

स्थानीय वडाध्यक्ष छत्रबहादुर शाहीका अनुसार केही वर्षअघि प्रशासनको सहयोगमा वडाका सबै छाउगोठ भत्काइएका थिए। तर देवता रिसाउने डरले महिलाहरू अझै लुकी–छिपी त्रिपाल टाँगेर बस्ने गरेको खुलेको छ।

“मान्छेको सोच बदलिएको छैन, कानुनले मात्र पुग्दैन,” उनले भने।

यसअघि पनि सोही गाउँमा महिनावारी भएका बेला छाउगोठमा निसासिएर युवतीको ज्यान गएको स्मरण शाहीले गरे।

प्रशासन र समाजबीचको संघर्ष

डीएसपी ओमप्रकाश खनालका अनुसार अछाममा स्थानीय तह र सुरक्षाकर्मी मिलेर लामो समयदेखि छाउपडी उन्मूलन अभियान चलाउँदै आएका छन्। मेल्लेख र पञ्चदेवलमा केही दिनअघि मात्रै सचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो।

“छाउगोठ भत्काइएका ठाउँमा फेरि त्रिपाल टाँगेर बस्दा यस्तो दुःखद घटना भयो,” डीएसपी खनालले भने।

एकपछि अर्को मृत्यु यो पहिलो घटना होइन।

यसअघि कञ्चनपुरमा छाउगोठमा सुतेकी कमला आउजीलाई सर्पले डसेर मृत्यु भएको थियो।

बैतडीमा १६ वर्षीया अनिता चन्दको छाउगोठमै सर्पदंशले ज्यान गयो।

गत वर्ष मात्रै प्रदेश प्रहरी कार्यालयले ७,५४५ छाउगोठ भत्काएको तथ्याङ्क सार्वजनिक गरेको थियो, जसमा सबैभन्दा धेरै अछाममै ५,८१३ गोठ भत्काइएको थियो।

तर अझै परम्पराको नाममा महिलाहरूलाई घरभन्दा बाहिरै बस्न बाध्य पारिँदा ज्यान जाने क्रम रोकिएको छैन।

कानुनले के भन्छ?

मुलुकी अपराध संहिता २०७४ ले महिनावारीका कारण महिलामाथि गरिएको कुनै पनि प्रकारको विभेदलाई अपराध मानेको छ। छाउपडी गराउनेलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

तर कानुनी व्यवस्था हुँदाहुँदै पनि चेतना र संस्कार नफेरिँदासम्म यस्ता घटनामा रोक नलाग्ने देखिएको छ।

दुःखद विडम्बना

सरकार र समाज मिलेर छाउगोठ भत्काउने अभियान चलाउँदा चलाउँदै पनि अछाममा बालिका र महिलाको अकाल मृत्यु हुनु, केवल त्रिपालमुनि बस्ने बाध्यता हुनु, अझै हाम्रो समाजमा अन्धविश्वास र रुढीवादले कस्तो गहिरो जर गाडेको छ भन्ने प्रमाण हो।

 छाउपडी सिर्फ कुप्रथा होइन, यो ज्यानमार्ने कारागार हो। यसलाई भत्काउने संरचना मात्र हैन, सोच परिवर्तन गर्ने चेतनामूलक क्रान्ति आवश्यक छ।


  • Jigyasanepal

थप