काठमाडौँ, फागुन ११ — निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन स्पष्ट र कडा आग्रह गरेको छ।
आयोगले आगामी निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने दायित्व स्मरण गराउँदै निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गरेको हो।
आयोगका अनुसार राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित निकायबाट आचारसंहिताको पालनाबारे निरन्तर अनुगमन भइरहेको छ। यसबीच केही स्थानीय तहका जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएपछि आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन आचारसंहितामा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने व्यवस्था रहे पनि सरकारी स्रोत–साधनको प्रयोग गर्न नपाइने स्पष्ट प्रावधान छ।
तर, आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु आचारसंहिता विपरीत हुने भन्दै आयोगले त्यस्ता गतिविधिबाट टाढा रहन सचेत गराएको छ।
आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा कडा निगरानी र आवश्यक कारबाही गरिने चेतावनी दिँदै निर्वाचनको मर्यादा कायम राख्न सबै जनप्रतिनिधि जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ
-
Jigyasanepal