✍️सन्तोषी पाण्डे
झरी परेको दिन
आकाश रोए जस्तो लाग्छ
अकाशले आफ्नै पीडा
थोपा-थोपामा धरतीसँग
बाँडे जस्तो लाग्छ ।
शहर आज धोए जस्तो देखिन्छ
तर
मान्छेको मन धूलाम्य छ,
झरीले सबै सफा गर्न सक्दैन
केही पीडा आफैँ बोल्नुपर्छ ।
झरी पर्दा यादहरू
छाताबिनै आउँछन्
न रोक्न सकिन्छन् न सुकाउन
बस भिज्न सक्नुपर्छ ।
झरीसँग आज धेरै कुरा भए
शब्दबिनै
शायद सबैभन्दा गहिरो संवाद
मौनतामा हुन्छ,
आजको झरी मौसम होइन
यो थाकेको आत्माको आराम हो ।
रोएर पनि मान्छे बलियो हुन सक्छ
झरीपछि आकाश खुल्छ
तर
मनले फेरि बादल बोकिरहन्छ
त्यही बादलले कविता जन्माउँछ ।
000
साभार: चर्चित कविता सङ्ग्रह सुमेरण बाट
-
Jigyasanepal