Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सुन तस्करको छोटो मन्तव्य !

  •   २ वर्ष अघि | १५ भदौ २०८१, शनिबार

कविता:-



✍🏼– विनोदविक्रम केसी 


इतिहासमा सुनका अक्षरले नाम लेखाउन 

कुनै बेला जेल बसेका मान्छेहरूलाई 

कालान्तरमा 

मैले सुन ‘सप्लाई’ गर्नुपर्यो 


मबाट यसरी  

सुनौलो इतिहास सुरु भयो 


नाक, कान, घाँटी, हात, औंला, खुट्टाका औंला

कम्मर अनि

हुँदाहुँदा जननेन्द्रियमा पनि 

सुनका गहना लगाउन थाले मान्छेले 


सुनपारखीलाई 

जति सुन भए पनि पुग्दैन 

सुनसोखिन 

सुनको भान्छामा खाएर 

सुनको रछ्यानमा चुठ्न चाहन्छ


सुनपारखी र सुनसोेखिनलाई मेरो सम्मान छ 

अनि सुनवादीलाई मेरो सलाम छ 

मनसा वाचा कर्मणा जसले अँगालेका छन् सुनवाद 

 

नक्कली सुनका गहना लगाउने, महिलावृन्द !

कृपया, आजैदेखि सक्कलीप्रति मोह जगाउनुहोस्  

चोर, डाँकाले लुटेपछि तपाईंहरूलाई 

जब खुल्छ पोल

ती कति भरङ्ग होलान् 

यता, हराउनु र गुमाउनुको सर्वाेत्तम मज्जाबाट 

वञ्चित हुनुहुनेछ तपाईंहरू 

उता, लुटेराको निराशाले 

देशको भविष्य अन्धकार बनाउनेछ 


उहिले–उहिले हामी दरबारी हुने गथ्र्याैं

आह, क्या सुवर्णमय थियो त्यो समय ! 

खुद राजा हामीसँग डिनर खान्थे 

र, आगामी दुईचार वर्षका लागि 

महावाणी तय गर्न 

सघाउँथ्यौं हामी 

देशको भविष्य सुनौलो छ भन्नेमा 

हाम्रो जोड हुन्थ्यो विशेष   


आह ! ती सुनौला दिन फर्काउन पाए...

हाम्रा प्रयत्नका जुलुसहरू जारी छन्...

हाम्रा जुलुसका प्रयत्नहरू जारी छन्...


केही कवि रहेछन् देशमा 

जो गर्दा रहेछन् चीत्कार— 

‘सिनोको सिन्दूरजात्रामा नहोऔं सरिक’ 

तिनका हातखुट्टा भाँच्नेलाई 

मेरा तर्फबाट 

दुई तोला सुन पुरस्कार घोषणा गर्दछु 

 

भोलि उदाउने 

सुनको बिहान कुरिबस्ने 

यहाँहरूलाई 

लामै भाषण दिन मन थियो  

तर, मलाई हतार छ 

एक जना 

इतिहासमा सुनको अक्षरले नाम लेखाउन 

वर्षाैं जेल बसेको मान्छेलाई 

भेट्नु छ आजै 


भोलि उदाउने 

सुनको बिहानको सुनौलोे कामनासहित 

आफ्नो छोटो मन्तव्य यहीं टुंग्याउँछु ।


  • Jigyasa media

थप