Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

देशभर साउने सङ्क्रान्ति मनाइँदै, दक्षिणायन प्रारम्भसँगै शिव आराधनाको विशेष महिना सुरु

  •   २ महिना अघि | १ साउन २०८३, शुक्रबार

काठमाडौं। आज साउन १ गते देशभर धार्मिक आस्था, स्नान, दान तथा परम्परागत संस्कारका साथ साउने (कर्कट) सङ्क्रान्ति पर्व मनाइँदै छ। वैदिक सनातन परम्पराअनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने प्रचलन रहिआएको छ।

आजदेखि सूर्यको दक्षिणतर्फको यात्रा अर्थात् दक्षिणायन सुरु हुने विश्वास छ। माघ १ गते प्रारम्भ हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई धार्मिक दृष्टिले विशेष महत्वका साथ हेर्ने गरिन्छ।

नेपाल कृषि प्रधान देश भएकाले असारभरि खेतबारीमा व्यस्त रहने किसानहरू साउनको पहिलो दिन शरीरमा लाग्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ ‘लुतो फाल्ने’ परम्परा पनि निर्वाह गर्छन्।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती लगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी प्रतीकात्मक रूपमा कण्डारक राक्षसको पूजा गरिन्छ। त्यसपछि अगुल्टो फाल्ने, नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा घरका ढोका बन्द गर्ने चलनले रोग–व्याधि टाढा रहने जनविश्वास छ।

साउन महिनालाई भगवान् शिवको विशेष आराधनाको महिना मानिने भएकाले आजदेखि देशभरका शिवालयमा भक्तजनको चहलपहल बढ्न थालेको छ। विशेषगरी पशुपतिनाथ, डोलेश्वर, किराँतेश्वर, हलेसी लगायतका शिवधाममा दर्शन र पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने अपेक्षा गरिएको छ।

यस अवसरमा विशेषगरी महिलाहरूले हरियो चुरा, पोते र हरियो पहिरन धारण गर्ने परम्परा पनि निभाउँछन्। हरियो रंगलाई हरियाली, समृद्धि, सौभाग्य र प्रकृतिसँगको सम्बन्धको प्रतीकका रूपमा लिने गरिन्छ।

साउने सङ्क्रान्तिले धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, स्वास्थ्य संरक्षण र नेपाली मौलिक संस्कृतिलाई एकसाथ जोड्ने पर्वका रूपमा आज पनि विशेष महत्व कायम राखेको छ।

  • Jigyasanepal

थप