बारा, असार ८ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा चोकमा सोमबार साँझ भएको भीषण मोटरसाइकल दुर्घटनामा पैदलयात्रुसहित तीन जनाको ज्यान गएको छ।
जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेका एक पैदलयात्रुलाई ठक्कर दिएपछि भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवक र पैदलयात्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घले का अनुसार दुर्घटनामा घाइते भएका तीनै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये दुई जनाको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया स्थायी घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी तथा काठमाडौंको टोखा नगरपालिका निवासी २० वर्षीय डिजेन जोशी रहेका छन्।
दुर्घटनामा मृत्यु भएका पैदलयात्रुको भने परिचय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको सनाखतका लागि अनुसन्धान जारी रहेको बताइएको छ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी र प्रहरीको भीड लागेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हाल मृतकहरूको शव पोस्टमार्टमका लागि बयोधा अस्पताल र नारायणी अस्पताल मा राखिएको छ।
यो घटनाले फेरि एकपटक सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन र ट्राफिक नियमको पालना नगर्दा दिनहुँ यस्ता दुःखद दुर्घटनाहरू बढ्दै गएको भन्दै स्थानीयवासीले सडक सुरक्षामा कडाइ गर्न माग गरेका छन्।
-
Jigyasanepal