बझाङ। बझाङको जयपृथ्वी राजमार्गस्थित दुर्गाथली गाउँपालिका-२ झनाना बजार नजिक ट्याक्टर दुर्घटना हुँदा दुईजना सेती नदीमा बगेर बेपत्ता भएका छन् भने तीनजनाको उद्दार गरिएको छ। बुधबार बिहान करिब ९:३५ बजे मौरीबगरबाट झनानातर्फ जाँदै गरेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।
दुर्घटनामा परेर जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सञ्जय बुढा र २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी कार्य भइरहेको छ भने तीनजनाको उद्दार गरिएको छ। उद्दार गरिएका व्यक्तिहरूमा जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षीय हेमराज विक, २१ वर्षीय सपेन्द्र विक, र १३ वर्षीय निरज विक छन्। तीनैजना सामान्य घाइते भएका छन् र तिनीहरूको उपचार केदारस्युँ गाउँपालिका-९ झोता बजारमा रहेको भैरव स्वास्थ्य चौकीमा भइरहेको छ।
घटनास्थलमा डीएसपी युवराज भण्डारीसहितको प्रहरी टोली र स्थानीयबासीले खोजी तथा उद्धार कार्यमा सहयोग गरिरहेका छन्।
प्रहरीले जानकारी दिएअनुसार, ट्याक्टर दुर्गाथली गाउँपालिकाका देव ओडको रहेको र सेती लोकमार्गअन्तर्गत झनाना-जडार सडक खण्डमा काम गरिरहेको दिव्या ज्योति कन्ट्रक्सनले भाडामा लिएको थियो। बेपत्ता र घाइते भएका सबैजना जाजरकोटबाट मजदुरको रूपमा उक्त सडक निर्माणको काम गर्न बझाङ आएका थिए।
बेपत्ताको खोजी जारी ट्याक्टर खसेपछि नदीमा बगेर बेपत्ता भएका चालक सञ्जय बुढा र सहचालक लोकेन्द्र घर्तीको खोजी कार्य तीव्र बनाइएको छ। घटनास्थलको कठिन भूगोलका कारण खोजीमा केही समस्या भए पनि प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।
सुरक्षाको अभाव यो दुर्घटनाले पहाडी क्षेत्रका असुरक्षित सडकमा काम गरिरहेका मजदुरहरूको सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ।
- Jigyasa media