ताप्लेजुङ, २७ कार्तिक २०८१
प्रसिद्ध पाथीभरा मन्दिरमा भक्तजनहरूले अब क्युआर कोडमार्फत पनि भेटी चढाउन सक्ने भएका छन्। यो सुविधा पाथीभरा क्षेत्र विकास समितिको पहलमा लक्ष्मी सनराइज बैंक ताप्लेजुङको सहकार्यमा सुरु गरिएको हो। समितिले मन्दिरमा दान खाता सञ्चालन गर्दै भक्तजनका लागि क्युआर कोड राख्ने व्यवस्था मिलाएको छ, जसले भेटी चढाउने प्रक्रियालाई थप सहज बनाएको छ।
पाथीभरा मन्दिर नेपाल र भारतका भक्तजनहरूको लागि एक अत्यन्तै पूजनीय धार्मिक स्थल हो। लगभग ३,७९४ मिटर उचाइमा रहेको यो मन्दिर ताप्लेजुङ जिल्लाको सुन्दर स्थानमा अवस्थित छ, जहाँबाट काँञ्चनजङ्गा हिमालको सुन्दर दृश्य देख्न सकिन्छ। मन्दिरमा नेपाली लिंबू, राई, शेर्पा, लगायत विभिन्न जातिका भक्तजनहरूले देवीको दर्शन गर्ने गर्दछन।
उक्त क्युआर कोड मंगलबार आयोजित कार्यक्रममा बैंकका प्रबन्धक अनिल श्रेष्ठले क्षेत्र विकास समितिलाई हस्तान्तरण गर्नुभयो। अब यो क्युआर कोड मन्दिर क्षेत्रमा राखिनेछ र आवश्यकता अनुसार विभिन्न स्थानहरूमा समेत विस्तार गरिनेछ।
नयाँ व्यवस्थाले भक्तजनहरूलाई भेटी चढाउन र आर्थिक लेनदेनमा पारदर्शिता कायम गर्न थप सहयोग पुर्याउने विश्वास गरिएको छ।
- Jigyasa media