काठमाडौं । रौतहटको बौधीमाई नगरपालिकास्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावका कारण एक नवजात शिशुको मृत्यु भएको छ। भारतीय सीमासँग जोडिएको बौधीमाई ४ इनरवारीस्थित स्वास्थ्य चौकीमा यो घटना मंगलवार बिहान घटेको हो।
गौरीशंकर पटेलका अनुसार, बौधीमाई ४ मा आज बिहान पौने ३ बजे उनकी छोरीको जन्म भएको थियो। जन्मको केही समयपछि शिशुको मुटुको चाल मन्द भएपछि थप उपचारका लागि शिशुलाई पालिकाको एम्बुलेन्समा वीरगन्ज पठाइएको थियो। तर, एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको बाटोमै मृत्यु भएको पटेलले बताए।
अक्सिजन नहुँदा शिशुको ज्यान गएको स्वीकार्दै इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले यस घटनाले गम्भीर चिन्ता उत्पन्न भएको बताए। नर्मल जन्मिएको शिशु नरुँदा आत्तिएका परिवारजन र स्वास्थ्यकर्मीहरूले शिशुलाई वीरगन्ज पठाए पनि, अक्सिजन अभावले शिशुलाई बचाउन सकेन।
थप उपचारका लागि बिहान ५ बजे शिशुलाई वीरगन्जस्थित तराई अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरूले शिशुलाई मृत घोषणा गरे। बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एम्बुलेन्समा अक्सिजन नहुँदा नवजात शिशुको मृत्यु भएको यो घटनालाई दुःखद भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
- Jigyasa media