नयाँ दिल्ली, असोज १०: भारतको आर्थिक राजधानी मुम्बईमा भीषण वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार रातिदेखि भएको लगातार वर्षाले मुम्बईका तल्लो भूभाग र उपनगरीय क्षेत्रहरूमा पानी जमेको छ। यसले गर्दा जनजीवन अस्तव्यस्त भएको छ।
वर्षाका कारण मुम्बईको मुख्य सार्वजनिक यातायातमा समेत असर परेको छ। स्थानीय ट्रेनहरू रोकिनुका साथै मुम्बईतर्फ आउँदै गरेका कम्तीमा १४ उडानहरू अन्यत्र डाइभर्ट गरिएका छन्। भारतीय मौसम विभागले मुम्बईसहित ठाणे, पालघर, र रायगढ जिल्लामा रेड अलर्ट जारी गरेको छ, जुन बिहीबार बिहान ८:३० बजेसम्म कायम थियो।
विद्यालय र कलेजहरू बन्द: बृहन्मुम्बई महानगरपालिकाले लगातारको वर्षाका कारण बिहीबार मुम्बईका सबै विद्यालय र कलेजहरू बन्द गर्न आदेश दिएको छ। साथै, मुम्बई प्रहरीले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरमै बस्न अनुरोध गरेको छ।
पहिरोको त्रास: लगातारको भारी वर्षाका कारण सेप्टेम्बर २५ मा ठाणेको मुम्ब्रा क्षेत्रमा पहिरो गएको थियो। पहिरोले गर्दा तीन घण्टाभन्दा बढी समयसम्म उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको थियो।
वर्षा जारी रहने अनुमान: मौसम विभागले आगामी दिनमा पनि मुम्बई र आसपासका क्षेत्रमा वर्षा जारी रहने अनुमान गरेको छ। सेप्टेम्बर २७ सम्म वर्षाको सम्भावना रहेकोले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। आन्ध्र प्रदेश र दक्षिण ओडिशा तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गरेकोले यो असर देखिएको बताइएको छ।
- Jigyasa media