बेरुत - पूर्वी लेबनानको बालबेक र आसपासका क्षेत्रमा इजरायली हवाई हमलामा ११ जनाको मृत्यु भएको र १४ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। बालबेकको बुडे गाउँमा भएको आक्रमणमा एकै परिवारका चार सदस्य— श्रीमान, श्रीमती र उनीहरूको दुई बच्चा—को ज्यान गएको छ।
स्रोतका अनुसार, अर्को आक्रमण मकनेह गाउँमा भएको थियो, जहाँ आमाबाबु र चार बालबालिका सहित ६ जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्। बालबेकको दक्षिणी भागमा चारवटा हवाई आक्रमणले एक महिलाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरिएको छ।
यसैगरी, डौरिस सहरको कस्र अल उलुम क्षेत्रमा इजरायली आक्रमणका कारण तीन जना घाइते भएका छन्, जसले नजिकका भवन, व्यवसाय र अन्य संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ।
लेबनानको बालबेक–हर्मेल गवर्नरेट र मध्य बेका क्षेत्रमा हालसम्म इजरायली आक्रमणको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ, जसबाट ६२८ जनाले ज्यान गुमाएका छन् भने एक हजारभन्दा बढी घाइते भएका छन्।
- RSS