Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

कोशी प्रदेशमा झरीले बाढीपहिरो र डुबानको जोखिम बढ्यो

  •   २ वर्ष अघि | १६ असोज २०८१, बुधबार

काठमाडौं, १६ असोज — कोशी प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ, जसले गर्दा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको छ। आज दिनभर झरी पर्ने क्रम जारी रहनुको साथै भोलि पनि निरन्तर वर्षा हुने अनुमान छ।

मौसमविदहरूका अनुसार कोशी प्रदेशमा केन्द्रित पानी पार्ने बादल पश्चिमतिर सर्दैछ, जसको असर मधेश, बागमती, र गण्डकी प्रदेशमा पनि पर्न सक्ने सम्भावना छ। विशेष गरी असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर बनाइसकेको क्षेत्रहरूमा अहिलेको वर्षाले थप क्षति पुर्याउने जोखिम देखिएको छ। त्यसैले सावधानी अपनाउन मौसमविदहरूले विशेष आग्रह गरेका छन्।

सुनसरी र मोरङमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार, सुनसरीको तरहरामा विगत २४ घण्टादेखि लगातार वर्षा भइरहेको छ। आज बिहान पौने आठ बजेसम्मको एक घण्टाको अवधिमा मात्र त्यहाँ १३.४ मिलिमिटर वर्षा मापन गरिएको छ। यसले गर्दा सर्दु, सुनसरी, बुढी, र खेसलिया खोला लगायतका साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ। होचो भू-भागमा डुबानको जोखिमसमेत उच्च रहेकोले सावधानी अपनाउन भनिएको छ।

मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ। यसले गर्दा यी क्षेत्रमा पनि बाढी र पहिरोको खतरा रहेको छ।

पश्चिमतिर सर्दैछ बादल

वर्षाको यो प्रणाली भारतको आसाम र मेघालय हुँदै नेपाल प्रवेश गरेको हो। अहिले पूर्वी नेपालमा केन्द्रित यो प्रणाली पश्चिमतिर सर्दै गर्दा कमजोर हुँदै जाने अनुमान छ। यसको असर हल्का रूपमा बागमती र गण्डकी प्रदेशमा पनि देखिनेछ। सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर, गोरखा लगायतका ठाउँहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना छ।

काठमाडौं उपत्यकामा अहिले बादल लागेको छ भने दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। यद्यपि, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भने यो प्रणालीको खासै प्रभाव पर्ने छैन।

सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन र आवश्यक पर्ने कदम उठाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।


  • Jigyasa media

थप