झापा, भदौ ३० – जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका २४ वर्षीय कैदी जीवन साह आज फरार भएका छन्। भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचाररत रहेका साह आज बिहान ३:४० बजे शौचालय लगिएका बेला त्यहाँबाट फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
साहलाई छातीको समस्याका कारण भद्रपुर नगरपालिका–५ मा रहेको प्रादेशिक अस्पतालमा भदौ २५ गते भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई ओमसाई पाथीभरा अस्पताल रेफर गरिएको थियो। उपचारकै क्रममा प्रहरीको सुरक्षा नियन्त्रणमा रहेका साह शौचालयको बहानामा भाग्न सफल भएका हुन्।
प्रहरी उपरीक्षक मिलन केसीको नेतृत्वमा फरार कैदीको खोजीकार्य तीव्र रूपमा भइरहेको छ। यसअघि पनि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए। उनी फरार भएको चार दिनपछि समातिएका थिए। झापामा फितलो सुरक्षा व्यवस्थापनका कारण यस्ता घटनाहरू बढ्न थालेको बताइएको छ।
प्रहरीले जनतालाई सतर्क रहन आग्रह गर्दै, घटनाको छानबिन गर्दै फरार कैदीको खोजीमा जुटेको छ।
- Jigyasa media