काठमाडौं — गाजाको उत्तरी जिल्ला बेत लाहियामा मंगलबार राति इजरायली हवाई हमलामा ५५ जनाभन्दा बढीको मृत्यु भएको छ। इजरायली आक्रमणले अबु नस्र परिवारको आवासीय भवन ध्वस्त पारेपछि भग्नावशेषबाट शव निकालिएको र दर्जनौं नागरिक घाइते भएको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले बताए। घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन्, र उनीहरूको उपचारका लागि अस्पतालमा पर्याप्त औषधि र जनशक्ति नभएको बताइएको छ।
कमल अदवान अस्पतालका निर्देशक हुसाम अबु साफियाका अनुसार अस्पतालमा १५ जना मृतकका शव ल्याइएको छ भने ३५ जना घाइतेहरूको उपचार भइरहेको छ। इजरायली सेनाले अस्पताल र स्वास्थ्यकर्मीमाथि पनि आक्रमण गरेको र चिकित्सक टोलीलाई गिरफ्तार गरेपछि प्राथमिक उपचार सामग्री मात्र बाँकी रहेको उनले जानकारी दिए।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली सेनाले जबालिया, बेत लाहिया, र बेत हानुनमा आक्रमण गर्दै आएकाले दशौं हजार प्यालेस्टिनी नागरिकलाई विस्थापित हुन बाध्य पारेको छ। इजरायली सेनाले भने यी आक्रमणहरूलाई हमास लडाकुलाई पुन: समूहबद्ध हुनबाट रोक्नका लागि गरिएको अपरेसनको रूपमा व्याख्या गरेको छ।
- RSS