जोमसोम, मुस्ताङ । : मुस्ताङको जोमसोम नजिकै कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक सञ्जय खड्काको मृत्यु भएको छ। आरु चनौटे–९, गोरखाका ३२ वर्षीय खड्का बेनीबाट जोमसोमतर्फ जाँदै गर्दा ग१च ७६९२ नम्बरको कारसँग ठोक्किएपछि घाइते भएका थिए। उनलाई उपचारका लागि मुस्ताङ अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनास्थल घरपझोङ–३ पुथाङ एयरपोर्ट नजिक रहेको थियो। प्रहरीका अनुसार कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले खड्काको मृत्युको पुष्टि गर्दै, काठमाडौंबाट अप्पर मुस्ताङ भ्रमणमा आएको कारसँग ठोक्किएको जानकारी दिएका छन्।
दुर्घटनापछि प्रहरी अनुसन्धान जारी छ, र पीडित परिवारलाई आवश्यक सहयोग गरिने आश्वासन प्रहरीद्वारा दिइएको छ।
- Jigyasa media