‘इयरफोन’ले खोसेको जीवन! जनकपुर–जयनगर रेलको ठक्करले एक युवकको ज्यान गयो

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार

धनुषा, असार २३ ।

जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट लक्ष्मीनिया गाउँपालिका–२, सिनुरजोडाका ४० वर्षीय विनोद साहको ज्यान गएको छ।

दुर्घटना सोमबार देउरी परवाहा स्टेशनदेखि केही पूर्व रेलवे ट्रयाकमा भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, साहले इयरफोन लगाएर ट्रयाकमा हिँडिरहेका बेला कैयौं पटक हर्न दिँदा पनि नसुनेपछि रेलले ठक्कर दिएको थियो।

रेल्वे कर्मचारीका भनाइअनुसार,

> “हामीले हर्न बजाइरहेका थियौं, तर उहाँले सुन्नु भएन। इयरफोनका कारण आवाज पुगेन, अन्ततः रेलले ठक्कर दियो ।

घाइते साहको घटनास्थलमै मृत्यु भएको थियो।

ट्रयाकमा ‘इयरफोन’को लापरबाही, रेल यात्रु र स्थानीय त्रसित

रेल्वे लिकमा 'इयरफोन' लगाएर हिँड्ने प्रचलनले फेरि एकपटक ठूलो दुर्घटना निम्त्याएको छ। सावधानीको अभाव र प्रविधिमा लिप्तताकै कारण ज्यान जाने घटनाहरू बढ्न थालेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै, स्थानीय प्रशासनले रेल्वे ट्रयाक आसपास हिँड्दा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।


  • Jigyasanepal

थप