Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट

  •   १ दिन अघि | ३० भदौ २०८३, मङ्लबार

काभ्रे धुलिखेल, भदौ ३० । सरकारी सेवामा जिम्मेवारी सम्हाल्ने व्यक्तिको इमानदारी र कार्यशैलीले वर्षौँदेखि रोकिएका कामसमेत अघि बढ्न सक्ने एउटा उदाहरण काभ्रेपलाञ्चोकको भूमि प्रशासन (मालपोत) कार्यालयमा देखिएको छ। ३६ वर्षदेखि अल्झिएको जग्गा दर्तासम्बन्धी काम कार्यालयका नयाँ प्रमुख हरिकृष्ण सुवेदी आएपछि तत्काल फर्छ्योट भएको छ।


पनौती निवासी भैरवप्रसाद कँणेलले २०४७ साल जेठ २७ गते पनौती फाँटस्थित पुर्ख्यौली खेतीयोग्य जग्गा दर्ता गरी जग्गाधनी पुर्जा उपलब्ध गराइदिन माग गर्दै आवश्यक प्रमाणसहित निवेदन दिएका थिए। तर लामो समयसम्म त्यस निवेदनमाथि निर्णय हुन सकेन। कँणेलको २०६१ सालमा निधन भए पनि जग्गा दर्ताको प्रक्रिया अघि बढ्न सकेन।

कँणेलको निधनपछि उनकी पत्नीले समेत पुनः निवेदन दिँदै पटक–पटक ताकेता गरे पनि विगतका मालपोत तथा नापी कार्यालयका प्रमुखबाट काम हुने आश्वासन मात्रै पाउने गरेको बताइन्छ। लामो समयसम्म निर्णय नभएपछि सरकारी सेवा प्रवाहप्रति सेवाग्राहीमा निराशा बढेको विषयसमेत उठाइएको थियो।


दर्ताका लागि आवश्यक अधिकांश प्रक्रिया पूरा

उक्त जग्गाको हकमा दर्ता प्रक्रियाका लागि आवश्यक आधार र प्रमाणहरू पहिले नै पूरा भइसकेको परिवारले दाबी गरेको छ। उपलब्ध विवरणअनुसार

-जग्गामा संयुक्त अंशियारहरूको पुर्ख्यौली हकभोग रहेको र कुनै विवाद नरहेको,

-नापी कार्यालयबाट नाप–नक्सा भई फिल्डबुकमा जग्गाधनीको विवरण उल्लेख भएको,

-नापी सम्पन्न भएपछि पुर्जा लिन मात्र बाँकी रहेको र त्यस अवधिसम्म तिरोसमेत तिरिएको,

-तत्कालीन गाविस तथा हालको नगरपालिकाको सम्बन्धित वडाबाट पटक–पटक किटानी सिफारिस गरिएको,

-तत्कालीन मालपोत कार्यालयले दुईपटक हकदाबीसम्बन्धी सार्वजनिक सूचना प्रकाशन गर्दा अन्य कुनै दाबी नपरेको,

-मालपोत कार्यालयबाटै दुईपटक किटानी स्थलगत सर्जमिन गरिएको,

-नापी कार्यालयले दुईपटक किटानी फिल्ड प्रतिवेदन पेस गरेको,

-सरकारले तोकेको विभिन्न म्यादभित्र निवेदन पेस गरिएको,

-जग्गा हदबन्दीमा नपर्ने प्रमाणका रूपमा ७ नं. फाँटवारी तथा सम्बन्धित पारिवारिक विवरण पेस गरिएको,

-फिल्डबुक, स्थानीय तहको सिफारिस, स्थलगत सर्जमिन र नापी प्रतिवेदनबाट जग्गा ऐलानी, पर्ती, वन क्षेत्र वा सरकारी/सार्वजनिक जग्गा नरहेको स्पष्ट भएको जनाइएको छ।

यति धेरै प्रक्रिया तथा प्रमाण पूरा हुँदासमेत लामो समयसम्म निर्णय हुन नसक्नुले सरकारी सेवा प्रवाहमाथि पटक पटक  प्रश्न उठाएको थियो।


कार्यालयभित्रै घुस प्रकरणको प्रसंग

वर्षौँदेखि काम रोकिएको अवधिमै सोही कार्यालयका भण्डारी थरका एक खरिदार सेवाग्राहीसँग मोलमोलाइ गर्ने क्रममा २ लाख रुपैयाँसहित अख्तियारको फन्दामा परेको प्रसंगसमेत परिवारले हालै स्मरण गरेको छ । उक्त समयमा कार्यालय प्रमुखका रूपमा दीपक निरौला रहेको बताइन्छ ।

यद्यपि, अहिले कार्यालय प्रमुखका रूपमा हरिकृष्ण सुवेदी आएपछि लामो समयदेखि रोकिएको उक्त काम फर्छ्योट भएको छ। यसले एउटै सरकारी संयन्त्रमा नेतृत्व र जिम्मेवारीअनुसार सेवा प्रवाहमा कति फरक पर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

३६ वर्षदेखि अल्झिएको काम अघि बढाएर फर्छ्योट गराएको भन्दै सुवेदीको कार्यशैलीलाई उदाहरणीय भनिएको छ। परिवारले प्रमुख लगायत कार्यलयको बर्तमान टिम लाई धन्यवाद ज्ञापन गर्दै जनताले यो किसिमको दुख अब भोग्नु नपर्ने समेत बिश्वास व्यक्त गरेका छ्न । साथै, अन्य भूमि प्रशासन (मालपोत) कार्यालयले पनि सेवाग्राहीका जायज र प्रमाण पुगेका काम अनावश्यक रूपमा नअल्झाई समयमै निर्णय गर्नुपर्ने आवश्यकता परिवार सदस्यले सामाजिक संजाल मार्फत औँल्याइएका छन।

  • Jigyasanepal

थप