Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान

  •   १६ घण्टा अघि | १ असोज २०८३, बिहिबार

काठमाडौं, असोज १ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिमध्ये कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका अनुसार पुरस्कारका लागि प्राप्त ११२ कृतिमध्ये १५ वटा विस्तारित सूचीमा परेका थिए। त्यसबाट छनोट भएका पाँच कृतिको संक्षिप्त सूचीमध्ये मूल्याङ्कन समितिले ‘सलह’लाई उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि चयन गरेको हो।

सीमान्त आवाज र सामाजिक प्रश्नको चित्रण

प्रतिष्ठानले ‘सलह’मा नेपाली समाजका सीमान्तकृत आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानसँग जोडिएका जटिल सवाललाई कलात्मक रूपमा प्रस्तुत गरिएको जनाएको छ।

कृतिको काव्यात्मक भाषा, प्रतीकात्मक प्रयोग, प्रकृतिको जीवन्त चित्रण तथा मार्मिक कथनशैलीलाई पनि पुरस्कारका लागि छनोट हुनुका प्रमुख विशेषताका रूपमा प्रतिष्ठानले उल्लेख गरेको छ।

पाँच दशकको साहित्यिक यात्राका लागि धरावासीलाई साधना सम्मान

यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार एवं आख्यानकार कृष्ण धरावासीलाई प्रदान गरिने भएको छ।

नेपाली साहित्यमा करिब पाँच दशकदेखि सक्रिय धरावासीका ‘शरणार्थी’, ‘राधा’, ‘आधा बाटो’ लगायत ३२ वटा कृति प्रकाशित छन्। उनले दुई दर्जनभन्दा बढी ग्रन्थको सम्पादनसमेत गरेका छन्।

उनका सिर्जनामा सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका ओझेलमा परेका पक्षलाई प्रस्तुत गरिएको प्रतिष्ठानले जनाएको छ।

पद्मश्री गौरव पुरस्कार जयराज आचार्यलाई

प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ।

नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका विषयमा दर्जनभन्दा बढी कृति लेखेका छन्।

उनका उल्लेखनीय कृतिमा ‘युगनाथ खनाल : जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अंग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीति : एक विमर्श’ रहेका छन्।

तीनै पुरस्कारको राशि तीन–तीन लाख

प्रतिष्ठानका अनुसार पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार प्राप्त गर्ने तीनै जनालाई जनही तीन लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ।

  • Jigyasanepal

थप