काठमाडौं — बाढी पहिरोको कारण मृत्यु हुनेको संख्या बढेर २०९ पुगेको छ। गृह मन्त्रालयले सोमबार साँझ ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै यो तथ्यांक जानकारी गराएको हो। बाढी र पहिरोमा परी २९ जना अझै बेपत्ता छन् भने १४२ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार सेनाको हेलिकोप्टरमार्फत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाहरूबाट घाइते, बिरामी र अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको छ। उद्धारकार्य निरन्तर जारी रहेको र अझै कठिनाइमा परेकाहरूलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको छ।
सरकारले अवरुद्ध भएका सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवाहरू छिटोभन्दा छिटो पुनः सुचारु गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दिएका छन्। साथै, संयुक्त राष्ट्रसंघीय निकायहरू र लजिस्टिक क्लष्टरका साझेदार संस्थाहरूसँग बैठक गरी राहत सामग्रीको व्यवस्थापन र वितरणका लागि नक्साङ्कन गरिने भएको छ।
- RSS