काठमाडौं ।: आज असोज २९ गते, बडादसैंको चौथो दिन, दसैंको मुख्य समारोहको एक हिस्सा मानिने टीका र जमरा लगाउने परम्परा जारी छ। मंगलबारको दिन पनि नवदुर्गाको प्रसादस्वरूप मान्यजनको हातबाट रातो टीका र जमरा लगाइँदैछ।
विजयादशमीको दिनदेखि सुरु भएको यो धार्मिक अनुष्ठानमा आशीर्वाद लिने क्रम आश्विन शुक्ल पूर्णिमासम्म चलिरहन्छ। परिवारका सदस्यहरू तथा आफन्तहरू एकअर्काका घरमा गई टीका र जमरा लगाउने र आशीर्वाद थाप्ने परम्परा आज पनि व्यापक रूपमा मनाइँदैछ।
सार्वजनिक बिदा सकिएर सरकारी कार्यालयहरू खुल्न थाले पनि कोजाग्रत पूर्णिमा अर्थात कात्तिक १ गतेसम्म टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी रहनेछ। यसैबीच, यस वर्षको अखिल बलिपूर्तिको पर्व असोज ३० गते परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कोजाग्रत पूर्णिमा पश्चात यस वर्षको बडादसैंको विधिवत् समापन हुनेछ।
- Jigyasa media