काभ्रे, पनौती । बनेपा–पनौती भित्री सडक खण्डमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो ४:१० बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र. ०२-०२२ प ७५९७ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। सोही समयमा विपरीत दिशाबाट आएको बा. ७८ प ५९६५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक पनौती नगरपालिका-५ का ४२ वर्षीय रामकृष्ण कुँवर गम्भीर घाइते भएका थिए।

घटनापछि कुँवरलाई उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपा पुर्याइएको थियो। तर, अस्पताल पुग्नासाथ चिकित्सकले साँझ ४:३५ बजे उनलाई मृत घोषणा गरेका छन्।
मोटरसाइकल चालक धुलिखेल नगरपालिका-४ का २१ वर्षीय रिजन सुवाल र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
- Jigyasa media