काठमाडौं । आज कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। महाशाखाको अनुसार, अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ। विशेष गरी, कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका एक-दुई स्थानमा पनि यस्तै अवस्था देखिन सक्ने उल्लेख छ।
आज राति पनि सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
भारी वर्षा हुने स्थानहरूमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।
- Jigyasa media