काठमाडौं। इरानमा शिया मुस्लिम धर्मावलम्बीहरूको धार्मिक अनुष्ठानमा सहभागी हुन इराकतर्फ जाँदै गरेका पाकिस्तानी तीर्थयात्रीहरू सवार बस दुर्घटनामा परेर कम्तीमा २८ जनाको मृत्यु भएको छ। इरानको मध्य प्रान्त याज्दमा मङ्गलबार राति भएको यस दुर्घटनामा २३ जना घाइते भएका छन्।
दुर्घटनाको कारण बस पल्टिएर आगलागी भएको थियो। इरानको राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मृतकहरूमा ११ महिला र १७ पुरुष रहेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
यी तीर्थयात्रीहरू पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिन मनाउन आयोजित अर्बेन स्मृति समारोहमा भाग लिन इरान हुँदै इराकतर्फ गइरहेका थिए। यो समारोह सिया धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण धार्मिक अनुष्ठान हो, जसमा गत वर्ष मात्र करिब दुई करोड २० लाख तीर्थयात्रीहरूले इराकको कर्बलामा सहभागिता जनाएका थिए।
घटनापछि ६ जना घाइतेहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्य १७ जनाको उपचार जारी छ। स्थानीय अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेको बताएका छन्।
- Jigyasa media