काठमाडौं। योगमाया दिवसको अवसरमा नेपाल स्रष्टा समाजले आयोजना गरेको विशेष कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान–२०८३’ अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान–२०८३’ साहित्यकार तथा अभियन्ता निनु चापागाईँ लाई समर्पण गरिएको छ।
दुवै सम्मानमा रु. ५० हजार १०१ नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो। सम्मान अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, रेखा कँडेल र राजेश न्यौपाने लगायतले संयुक्त रूपमा समर्पण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि रोचक घिमिरे ले योगमाया न्यौपाने निरंकुशताविरुद्ध संघर्ष गर्ने अद्वितीय व्यक्तित्व भएको उल्लेख गर्दै समाजका विकृति र विभेदविरुद्ध उनले खेलेको भूमिका आज पनि प्रेरणादायी रहेको बताए। उनले सम्मानका लागि योग्य व्यक्तित्वको छनोट गरेर नेपाल स्रष्टा समाज स्वयं सम्मानित भएको उल्लेख गर्दै सम्मानित व्यक्तित्व र संस्थापकहरूलाई बधाई तथा धन्यवाद व्यक्त गरे।
यसै अवसरमा ‘योगमाया : इतिहासदेखि वर्तमानसम्म’ शीर्षक पुस्तकको पनि लोकार्पण गरिएको थियो। योगमाया न्यौपानेबारे लेखिएका लेख–रचनाको संगालो रहेको उक्त कृतिको सम्पादन प्रदीप सापकोटा ले गरेका हुन्।
सम्मानित कथाकार माया ठकुरी ले सम्मान प्राप्त गर्नु आफ्नो लागि गौरवको विषय भएको बताउँदै बाल्यकालका सम्झनामा फर्किँदा आफू भावुक बनेको अनुभव सुनाइन्।
अर्की सम्मानित व्यक्तित्व निनु चापागाईँ ले योगमाया र आफ्नो जन्मथलो भौगोलिक रूपमा धेरै टाढा नभए पनि उनको योगदानबारे धेरै पछि मात्र जानकारी पाएको उल्लेख गर्दै योगमायाको जीवन र विचारमाथि अझ गहिरो अध्ययन आवश्यक रहेको बताए। उनले योगमायालाई क्रान्तिकारी कविका रूपमा स्मरण गर्दै तत्कालीन राज्य व्यवस्था, कानुन र राजनीतिमाथि प्रश्न उठाउने साहसिक व्यक्तित्व भएको धारणा राखे।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक ले योगमायाको ऐतिहासिक योगदानको चर्चा गरे भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपाने ले योगमायाको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
कार्यक्रममा इल्या भट्टराई ले सम्मानित व्यक्तित्वहरूको परिचय प्रस्तुत गर्दै कथाकार माया ठकुरी रेडियो खर्साङ र रेडियो नेपालकी गायिका समेत रहेको तथा उनका कृतिहरू भारतका विभिन्न विश्वविद्यालय र नेपालका विद्यालय तहका पाठ्यक्रममा समावेश रहेको जानकारी दिइन्। उनले निनु चापागाईँ साहित्य र राजनीतिलाई सँगसँगै अघि बढाउने व्यक्तित्व भएको उल्लेख गर्दै राल्फाली आन्दोलन तथा समालोचना क्षेत्रमा उनको योगदानबारे पनि चर्चा गरिन्।
न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपाने ले योगमायाको योगदानको व्यापक प्रचार–प्रसार गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गराउन आफूहरू निरन्तर सक्रिय रहेको बताए। उनले लोकार्पित पुस्तकले योगमायाको योगदान जन–जनसम्म पुर्याउने विश्वास व्यक्त गरे।
गायिका लोचन भट्टराई ले योगमायाका वाणी आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्। कार्यक्रममा योगमाया रचित गीतको भिडियो पनि प्रस्तुत गरिएको थियो, जसमा संगीत र स्वर लोचन भट्टराईकै रहेको छ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका सल्लाहकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पूर्वअध्यक्ष चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, रमा शर्मा, बागमती प्रदेश संयोजक शंकर भारती, कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, गण्डकी प्रदेश अध्यक्ष रिता न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
न्यौपाने बन्धु समाज नेपालको सह–आयोजनामा सम्पन्न कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रकाश घायल ले स्वागत मन्तव्य, गोपिकृष्ण न्यौपाने ले धन्यवाद ज्ञापन तथा प्रदीप सापकोटा ले सञ्चालन गरेका थिए।
उल्लेखनीय छ, योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक हुन्। हालसम्म यस सम्मानबाट १८ जना स्रष्टा सम्मानित भइसकेका छन्। त्यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानबाट हालसम्म ९ जना सम्मानित भइसकेका छन्, जसका संस्थापक राजेश न्यौपाने लगायत रहेका छन्।
नेपाल स्रष्टा समाजले केही वर्षयता न्यौपाने बन्धु समाज नेपाल को सहकार्यमा योगमाया स्मृति दिवसका अवसरमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै योगमायाको योगदानलाई राष्ट्रिय रूपमा स्थापित गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।
-
Jigyasanepal