काठमाडौं । "मजदुरीले थाकेको शरीर विश्राम गर्न न घर छ, न डेरा," जिते तामाङ भन्छन्। उनीसँग जुनेली रात र खुला आकाश मात्र छ। दरबारमार्ग र ठमेलका गल्लीहरूमा चिसो भुईँमा कार्टुन र बोरा ओछ्याएर उनी रात बिताउँछन्। न गर्मीको राहत, न जाडोको सुरक्षा। तामाङ जस्तै धेरै घरबारविहीन व्यक्तिहरू सडकलाई नै आफ्नो ओछ्यान बनाउन बाध्य छन्।
"चाहेर होइन, परिस्थितिले सडकमा ल्यायो," तामाङले भने। सडक उनको घर हो, जहाँ दिनभर भारी बोक्ने, दुई/चार रुपैयाँ कमाउने, बेलुकी पेट भरेर सडकमै सुत्ने उनको दैनिकी हो। न्यायो ओछ्यान बिर्सिएको वर्षौं भइसक्यो, र जाडो याम आउँदा कसरी चिसो छल्ने भन्ने चिन्ता मात्रै बाँकी छ।
सानोकान्छा घर्तीले पनि ठमेलका सडकमा रात बिताउँदै आएका छन्। उनी भन्छन्, "गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा बस्न पनि दिँदैनन्।" सडकका यी घरबारविहीनहरू साथीहरूबाटै लखेटिन्छन्, कहिले सर्वसाधारण र व्यापारीहरूबाट।
घरवारविहीनहरूको उद्धार गर्न मानव सेवा आश्रमले असोज २६ देखि मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरेको छ। "सडकमा भेटिने बेवारिसेहरूलाई उद्धार गरेर आश्रय दिनु हाम्रो जिम्मेवारी हो," आश्रमका अध्यक्ष रामजी अधिकारीले भने। हालसम्म १२ वर्षमा ११ हजारभन्दा बढी सडक मानवको उद्धार गरिएको छ, जसमा एक हजार मानसिक सन्तुलन गुमाएका छन्।
तर, उद्धार कार्यको अभाव र व्यवस्थापनको समस्या पनि उत्तिकै छ। जिल्ला प्रहरीका अनुसार, सडकमा अलपत्र परेका घरबारविहीनहरूलाई तत्काल उद्धार गर्ने संयन्त्रको अभाव छ। स्थानीय सरकारहरूले यसमा चासो नदिएको गुनासो प्रहरी उपरीक्षक नवराज अधिकारीले गरे।
स्थानीय सरकार र सहयोगी संस्थाहरूको समन्वयमा घरबारविहीनहरूको उद्धार र व्यवस्थापनको पहल आवश्यक छ, ताकि उनीहरूको कठोर जीवनयात्रालाई केही सहज बनाउन सकियोस्।
- Jigyasa media