काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेल बन्ने पक्का भएको छ । लामो रस्साकस्सीपछि राष्ट्र बैंकको गभर्नर पौडेल बन्ने पक्का भएको हो ।
पौडेल कांग्रेसको सिफारिसमा गभर्नर बन्न लागेका हुन् । यसअघि राष्ट्र बैंक कार्यकारी निर्देश डा. गुणाकर भट्टलाई गभर्नर बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरेका थिए । तर, भट्टको नाममा प्रधानमन्त्री ओलीले असहमति जनाएपछि एक महिनादेखि गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै आएको थियो ।
मंगलबार बालुवाटारमा भएको प्रधानमन्त्री ओलीसँगको भेटमा कांग्रेस सभापति देउवाले गभर्नरका लागि पौडेलको नाम दिएको बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार स्रोतका अनुसार पौडेलको नाम देउवाले दिएपछि साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल यसअघि गभर्नर सिफारिस समितिमा सदस्य थिए ।
तर, भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री ओली तयार नभएपछि देउवाले पौडेललाई गभर्नर बनाउने योजनाका साथ सिफारिस समितिबाट राजीनामा दिन भनेका थिए । गभर्नर बनाउने देउवाको प्रस्तावपछि पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
मन्त्रिपरिषद्को बैठकअघि गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिफारिस समितिको बैठक बोलाएका छन् । अर्थमन्त्री पौडेल अध्यक्ष रहेको सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषनाथ पाण्डे सदस्य छन् ।
सिफारिस समितिको बैठकले विश्वसहित तीन जनाको नाम गभर्नरका लागि सिफारिस गर्नेछ । त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बालुवाटार स्रोतले बताएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंक २४ चैतयता गभर्नरविहीन छ ।
- I