काठमाडौं, साउन २७ – सेयर बजारको विश्लेषणका नाममा विज्ञापन गरिएको ‘नेप्से एआई’ एप डाउनलोड गरेलगत्तै एक व्यक्तिको बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ गायब भएको घटना सार्वजनिक भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार पीडितले उक्त एपबारेको विज्ञापन फेसबुकमा देखेपछि डाउनलोड गरेका थिए। एपलाई सेयर बजारको विश्लेषण गर्ने आधुनिक प्रविधिका रूपमा प्रचार गरिएको थियो।
एप खोलेपछि कालो स्क्रिन, त्यसपछि रकम गायब
एप इन्स्टल गर्नासाथ उक्त एपमा ‘रिमोट सेसन’ खुल्ने व्यवस्था रहेको र त्यसपछि मोबाइलको स्क्रिन अचानक कालो भएको प्रहरीले जनाएको छ।
एसपी खड्काका अनुसार
> “त्यसको केही क्षणमै पीडितको खाताबाट २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भयो, साथै मोबाइलमा रहेका डाटासमेत मेटाइयो।”
पीडितले तत्काल सिआइबीमा उजुरी दिएका थिए।
प्रहरीको चेतावनी
सिआइबीले यस्तो घटनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै निम्न सुझाव दिएको छ—
अपरिचित एप वा लिंक डाउनलोड/क्लिक नगर्नु
आधिकारिक एप स्टोर (Google Play, Apple App Store) बाट मात्र एप डाउनलोड गर्ने
टु-फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्ने
पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्ने
AnyDesk, TeamViewer जस्ता रिमोट एक्सेस सफ्टवेयर अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिने
घटना पत्ता लाग्नासाथ तत्काल कदम
यस्ता घटनाबारे थाहा पाउनासाथ बैंक/वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तुरुन्त जानकारी दिन सिआइबीले आग्रह गरेको छ।
यो घटना फेसबुक विज्ञापनमार्फत फैलिने डिजिटल ठगीको नयाँ मोडेल भएको प्रहरीले जनाएको छ, जसमा सेयर बजार विश्लेषणजस्तो संवेदनशील र आकर्षक विषयलाई प्रयोग गरेर ठगहरूले उच्च रकम हिनामिना गरेका छन्।
-
Jigyasanepal