काठमाडौँ, वैशाख ३ – नेपाली सेयरबजारमा हरियालीको लहर दोस्रो दिन पनि कायम रह्यो। बुधबार नेप्से परिसूचक ७.०१ अंकले उकालो लाग्दै २६९६.२३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ करोड ६६ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
दिनभरको कारोबारमा १४७ कम्पनीका सेयरमूल्य बढेका छन् भने ९७ कम्पनीको घटेका छन्। बाँकी दुई कम्पनीको मूल्य स्थिर रह्यो।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र राधी जलविद्युतको मूल्य क्रमशः ९.९९, ९.९९ र ९.९७ प्रतिशतले बढेको छ।
अर्कोतर्फ, गुराँस लघुवित्तको मूल्यमा ५.५५ प्रतिशतको गिरावट आएको छ, जुन दिनकै सबैभन्दा बढी गिरावट हो।
कारोबार रकमको हिसाबले ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसको ५९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। राधी जलविद्युत्को ५० करोड, बलेफी हाइड्रोको ४२ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४० करोड रुपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
- Jigyasa media