काठमाडौं, असार १७ –
नेप्से परिसूचक मंगलबार लगातार तेस्रो कारोबार दिनसमेत हरियाली देखाउँदै उकालो लागेको छ। सोमबारको वृद्धिलाई पछ्याउँदै यस दिन पनि बजारमा हरियाली कायम रहँदा परिसूचक २८.९१ अंकले उकालो लाग्दै २६६०.३९ विन्दुमा अडिएको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स ६.१९ अंक, फ्लोट इन्डेक्स २.३६ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२७ अंकले वृद्धि भएको छ। बजारमा लगानीकर्ताको आत्मविश्वास थप मजबुत हुँदै गएको संकेत परिसूचकले दिएको छ।
कारोबारमा पनि उछाल, ७ अर्ब नाघ्यो
सोमबार ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा मंगलबार ३०९ कम्पनीका शेयरहरूमा ७० हजार २१४ पटक कारोबार हुँदै १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर किनबेच भयो। कुल कारोबार रकम ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँ पुगेको छ, जुन पछिल्ला दिनहरूमा सकारात्मक वृद्धि हो।
कुन कम्पनीको शेयर उकालो लाग्यो?
सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर को शेयरमूल्यमा ९.८७% ले सर्वाधिक वृद्धि भएको छ।
बरुण हाइड्रोपावर को मूल्य झण्डै ८.५% ले उकालो लागेको छ भने
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन को मूल्य पनि ८% भन्दा बढीले वृद्धि भएको छ।
यता, कारोवारमा सक्रिय युनिलिभर नेपालको शेयरमूल्य भने २.१३% ले घटेको छ।
कारोबार रकममा को अगाडि?
कारोबार रकमका हिसाबले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहँदै ४६ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ।
राधी विद्युत कम्पनी ले पनि ४५ करोडभन्दा बढीको कारोबार गर्दै दोस्रो स्थानमा स्थान सुरक्षित गर्यो।
बुटवल पावर कम्पनी को कारोबार २६ करोड रुपैयाँभन्दा बढी रह्यो।
१३ मध्ये ११ उपसमूहमा हरियाली
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ।
लगानी उपसमूह २.३८% ले अघि बढ्दा,
लघुवित्त उपसमूह २% भन्दा बढीले उकालो लागेको छ।
बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहमा पनि १% भन्दा बढीको वृद्धि देखिएको छ।
तर, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह भने सामान्य गिरावटमा देखिए।
-
Jigyasanepal