Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

प्रदीप नेपालबाट सिक्ने कि !

  •   १ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

✍🏼महेन्द्र पौडेल 


गत केही हप्ताअगाडि एउटा टिभी अन्तर्वार्तामा एमालेका नेता तथा प्रसिद्ध लेखक प्रदीप नेपालले फेरि त्यही कुरा दोहोऱ्याए 'म साठी वर्षपछि राजनीतिबाट सन्यास लिन्छु ।' यो उनको आफ्‌नो व्यक्तिगत धारणा होला। उनी त्यही एमालेका नेता हुन् जुन पार्टीको नीति र मार्गनिर्देशन स्वर्गीय मदन भण्डारीले प्रत्युपादन गरेको 'जनताको बहुदलीय जनवाद' अंगीकार गरिरहेको छ। उनै भण्डारीका उपदेशहरू पार्टी कार्यालयहरूमा सजाइरहेको एमाले र बारम्बार देखिने भण्डारीका शब्द 'राजनीतिमा थकाइ भन्ने हुन्न' भनाइविपरीत प्रदीप नेपालको राजनीतिक सन्यास लिने उद्घोषले आधुनिक र प्रगतिशील सोचको प्रतिविम्ब गर्दछ भनेमा दुईमत छैन ।

समकालीन राजनीतिबाट दिक्क मानेर हुनुपर्दछ यो उनको भनाइ आएको । उनी लोकप्रिय लेखक त हुँदैहुन् र राजनीतिमा सक्रिय नेता पनि। नेपाली राजनीतिको एउटा सत्य के हो भने ०४६ सालको जनआन्दोलन सफलताको क्रममा खुलामञ्चको विशाल जनसभाअगाडि गिरिजाप्रसाद कोइरालाले 'यो जित पञ्चहरूको पनि हो भन्दा त्यहां उपस्थित जनसमुदायले विरोध गरेर उहाँलाई बोल्न दिइएन । उहाँले नेपाली जनतालाई दिएको एउटा सन्देश थियो त्यो, तर जनताले बुझेनन् र अन्ततः त्यसयता नेपाली राजनीतिमा तिनै पञ्चहरूको हालीमुहाली भइरह्यो। अर्को तीतोसत्य के हो संसदीय प्रणालीमा विश्वास नभई जंगलमा बसेर राज्यसत्ता ताकेको माओवादी र संस‌द्वादी दलको सांठगांठबाट ०६२ र ०६३ को सफल जनआन्दोलन भयो। तत्पश्चात् गणतन्त्र ल्याउने र २ सय ५० वर्षसम्म जरा गाडेको राजतन्त्रलाई हटाउने काम त भए तर एकात्मक प्रणाली र समकालीन तिनै वासी अनुहारहरूलाई मिल्काउन सफल भएनन् ।


पञ्चायतदेखि प्रजातन्त्र हुँदै लोकतन्त्रसम्म नेपालको राजनीतिक केन्द्रविन्दु र सरकारमा तिनै अनुहारहरू सहभागी हुन पुगे । हजारौं हजारको बलिदान र १२ वर्षे जनयुद्धको परिणामले शैलीमा परिवर्तन भए पनि सारमा परिवर्तन हुन सकेन र जनताले त्यो आभाष पनि पाउन सकेनन् । यी यावत् घटनाक्रमसँगै एमालेलगायत अरू पार्टीले लिएको नीति साथसाथै तिनै बासी अनुहारहरू हिजो प्रजातन्त्रमा थिए, लोकतन्त्रमा पनि थिए । तिनै समाचार र अखबारमा छाइरहने हुँदा नयाँपनको कुनै आभाष नभएको महसुस प्रदीप नेपाललाई पनि हुँदो हो ।

नेपालको राजनीतिमा सर्वाधिक केन्द्रबिन्दुमा रहेर पनि उनी र उनको पार्टीले नयाँ नेपालको काँचुली फेर्न नसकेको तिक्तता भएको हुनुपर्दछ। एउटा लेखक र विद्वान् राजनीतिज्ञका रूपमा प्रस्तुत रहेको नेपालको लेखहरूले पहिल्यै प्रष्ट्याइदिएका दृष्टान्त छन्। केही वर्ष पहिले बुटवलको एउटा प्रेस भेटघाटमा नेपालले 'नेपालमा संघीयता लागू हुन नसक्ने भन्दै देश नै आर्थिक रूपमा आत्मनिर्भर नभएकाले संघीय राज्य टिक्न सक्दैनन् भन्दै उनले मगन्ते देशमा संघीयताको उन्माद बोक्नु मूर्खताबाहेक केही नहुने भन्दा उनलाई संघीयताविरोधीको आरोप लाग्न थाल्यो। अन्ततः संघीयताकै कारण संविधानसभा विघटन हुन पुगेको हाम्रोसामु छ ।

केही वर्षपहिले माओवादीको विषयमा गरेको टिप्पणी र आज आएर माओवादीले खेलेको भूमिका, उनका कथित नेताहरू सुविधाभोगी भएको, सुविधा पाएपछि मान्छेका चाहना कसरी परिवर्तन हुन्छन् भन्ने कुरा नेपालले पहिल्यै दर्शाइसकेका थिए । जुन आजपर्यन्त सर्वहारा नामको काँचुली माओवादीको रहनसहन, वासस्थानले प्रमाणित गरिदिएको छ । तर, नेपाली जनताले उनको कुरा बुझ्न र अनुसरण

गर्न सकेनन् । त्यसैले त कसै-कसैले भन्छन्, 'प्रदीप नेपाल नेपालको राजनीतिमा ३० वर्षपछाडि आएको भए अबका पुस्ताले बुझ्‌ने थिए ।' जेसुकै होस् तर आफ्‌नै पार्टीमा पनि उनले आफ्‌ना समकालीन र जनजातिलाई कुरा बुझाउन सकेनन् जबकि उनी आफै जनजातिसँग जनवादी बिहे गरेर परिवर्तन आफैबाट सुरु गर्नुपर्दछ भन्ने उदाहरण वर्षोंपहिले दिइसकेका हुन् । यद्यपि उनका समकालीनले बुझ्न नसकेबाट दिक्क भएरै होला केही दिनपहिले उनले फेसबुक स्टाटसमा लेखे 'एमालेभित्रका जनजाति कामरेडहरूले पार्टी छोडिहाल्नु हुन्छ कि भनेर चिन्तित हुनुभएका शुभचिन्तकहरूलाई एउटा खुशीको खबर । उहाँहरूले पार्टीका शीर्ष नेताहरूसँग केपी ओली र प्रदीप नेपालमाथि कारवाही हुन्छ भने आफूहरू पार्टीमा फर्किन तयार भएको प्रस्ताव पस्किनुभएछ । केपी ओलीको त म जिम्मा लिन सक्दिनं । पार्टीलाई त्यो प्रस्ताव सही लाग्छ भने म चाहिँ उहाँहरूको प्रस्तावलाई खुशीसाथ स्वीकार्न तयार छु ।'

राजनीतिमा उनको यो उचाइसँगै साहित्य लेखनबाट पनि उनले देशकै सेवा गरेका छन्। नेपाल र नेपाली जनता एवं नेपाली साहित्यलाई भण्डारण गर्दै विशिष्ट योगदान दिएका छन्। उनको चर्चा गर्दा प्रदीप नेपालका अनेकौ कृतिमध्ये उपन्यास 'दुर्गा हजुरमाको भूत' 'स्वप्निल शहर' 'रांगेय राघव' 'अनौठो प्रेमकथा' प्रसिद्ध उपन्यास हुन् । उनको कृति 'नओइलाउने फूल'मा उनले सामाजिक कुरीतिलाई छर्लंग पारेका छन् । ०४५ सालमा लेखिएका उनको त्यो बेलाको परिवेशमा बाजे बाहुनले तीन श्रीमती बिहे गरेको उपन्यासमा खुलाइएको छ। ०६२ सालमा लेखिएको उनको अर्को उपन्यास 'स्वप्निल शहर' पाठकहरूमाझ अत्यन्तै चर्चित छ ।

व्यावहारिक जीवनमा उनी दृढ, राष्ट्रप्रेमी, देशभक्त सबैलाई विश्वास गर्ने खालका देखिन्छन् । केही दशकपहिले जब उनलाई बेनट्युमर भयो त्यतिवेला यो पंक्तिकार नेपाललाई भेट्न नर्भिक अस्पतालमा पुगेको थियो ।

त्यसबेला समकालीन साथीभाइ, नातागोता, इष्टमित्र एवं उनका आफ्‌नै पार्टीका शीर्ष नेताहरूले उनको परिवारलाई सुझाए कि सरकारी कोषबाटै उपचार विदेशमा गर्ने भनेर । तर, उनी र उनको परिवारले त्यो सबैको सहानु‌भूतिलाई आत्मसात गर्दै नेपाली डाक्टर नेपाली प्रविधिबाट उपचार गराउन चाहे बरु मरे यही मरौला भन्दै जोखिम मोले । फलस्वरूप डा. उपेन्द्र देवकोटाको टिमले उनलाई नयाँ जीवन दिन सक्यो र फेरि छापाहरूमा उनलाई देख्न पायौ, अनुभव गर्न पायौं उनका भावना र कृतिहरू पढ्न पायौ । आजका नेताहरूलाई भने रुघा खोकी वा ज्वरो आउँदा बैंकक, सिंगापुर र दिल्ली दौडन्छन् ।

आधुनिक र नयाँ पुस्ताका सोचहरूको द्रुत्ततर विकास भइरहेको अहिलेको परिप्रेक्ष्यमा पुरानो र थोत्रो भइसकेको इतिहासलाई अंगाल्नुभन्दा त्यसबाट पाठ सिक्नुपर्दछ भन्ने मान्यता रहेको सोच प्रदीप नेपालमा पाइन्छ । त्यसैले उमेरको उत्तरार्धमा राजनीतिक गर्नुहुन्न भन्ने मान्यता सोच विकास हुन्छ । उनले नेपालको राजनीतिक र पार्टीमा खेलेको भूमिका र अनु‌भव निस्क्रिय राजनीतिपश्चात् एउटा इतिहास हुनेछ जसबाट नयाँ पुस्ताले अंगाल्ने होइन कि एउटा पाठ सिकून् भन्ने हो। पार्टीको केन्द्रीय तहमा केबल बुढा राजनीतिकर्मीहरूको वर्चश्व हुनुले पनि कार्यगत शैलीमा फरक र सोचको समायोजन हुन कठीन हुन्छ । हरेक नेताले अब प्रदीप नेपालको राजनीतिक सन्यासबाट पाठ सिक्नुपर्ने जरुरी देखिन्छ ।

(प्रदिप नेपालसँग मेरो पारिवारिक सम्बन्ध जस्तै थियो । मलाई उनले धेरै कुरा सिकाए । इमेलमा उहाँसँग गफ भइरहन्थ्यो । चरैवती लेख्दैछु भन्दै हुनुहुन्थ्यो । उनी मंजुलका भाई हुन भन्ने धेरै पछि थाहा भयो । मंजुलको मृत्यु कविता पढेपछि मैले आफूलाई भिक्षु हुन लुम्बिनी पुगेको मान्छे फर्किएको हुँ । मंजुल पुतलीसडकमा बस्नुहुन्थ्यो । विश्वभाषा क्याम्पस पढाउनुहुन्थ्यो । बेलुकीपख गफगर्न पाइन्थ्यो । दृष्टि र बागबजारतीर बेलाबेला प्रदिप नेपाल झुल्किन्थे । मैले एकदिन किशोर नेपालको लेखबारे कुरा गर्दा, प्रदिप नेपालले किशोर पंचायतीकालमा पन्चेपनि भएका हुन भन्थे । श्याम दाई,सँग खुब दोस्ती थियो एकताका प्रदिप नेपालको । तर उहाँको फेसबुकका नेगेटिभ कमेण्ट र नेगेटिभ सोच राख्नेलाई तिरस्कार गरिहालनुहुन्थयो । उहाँको ब्रेन अपरेसन उपेन्द्र देवकोटाले गर्नुभएको थियो नर्भिकमा । ब्रेन ट्युमर हुँदा । त्यतिबेला उपेन्द्र देवकोटाले उहाँलाई नेगेटिभ, नसोच्ने, नेगेटिभ नभन्ने, नेगेटिभ नबोल्ने यति गर्नुभयो भने तपाई ७० वर्षभन्दा माथि बाँच्नुहुन्थ्यो भन्नुभएछ । त्यो कुरा उहाँले भन्नुहुन्थ्यो । जतिबेला उहाँको अपरेसन ५० को दशकमा भाथ्यो । एमालेमा उहाँले ६० वर्ष हदबन्दी हुनुपर्छ भन्ने आवाज उठाउनु भएको थियो । मैले त्यै बेला नागरिकमा उहाँको बारेमा लेखेको लेख । यो देखेपछि उहाँले मलाई इमेलमा लेखेर धेरै कुरा भन्नुभएको थियो । उहाँको आत्मले शान्ति पाओस, बैकुण्ठमा बास होस । प्रदिप दाई । तपाईको महाप्रस्थानको खबर सुनेर आँखा रसाए ।)


  • Jigyasanepal

थप