आज हामी विक्रमाब्द तीसको दशको उत्तरार्धदेखि नेपाली कम्युनिष्ट आन्दोलन, महिला सशक्तीकरण तथा सबलीकरणमा अविचलितरुपले उल्लेखनीय योगदान गर्दै आउनु भएको र हामी सबैकोबीच परिचित व्यक्तित्व डा. विन्दा पाण्डेद्वारा लेखिएको कृति भुँइमान्छे जसमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना (वि.सं. २००६) देखि वि.सं. २०४६ सालको जनआन्दोलन सम्मका कम्युनिष्ट फाँटका ऐतिहासिक महत्वका धेरैभन्दा धेरै घटना र सोसम्बद्ध प्रमुख पात्र (गजुर–नेता ) र उक्त गजुरलाई अड्याउने, ठढ्याउने र जोगाउने जग, गारो ( भुइँमान्छे– कार्यकर्ता, आश्रयदाता, सुरक्षादाता) लाई निकै न्याय गरेर लेखिएको कृति र उक्त कृतिमा काभ्रेपलाञ्चोक जिल्लाको सन्दर्भलाई मुख्य विषय बनाएर आयोजना गरिएको परिसंवादमा चर्चा गरिएको केही विशेष अंशहरु प्रस्तुत गरौँ ।
आसा गरौँ, यस आलेख पढेपछि तपाईं स्वयं कार्यक्रममा उपस्थिति भएको भान हुनेछ ।
यस कार्यक्रमको सक्रिय सहभागिता र कृतिकार र प्रमुख वक्ता लगायत अन्य व्यक्तित्वको यस सम्बन्धी अभिव्यक्तिले यस कार्यक्रमलाई सार्थक तुल्याउँदै कृतिलाई अझ बढी सामयिक, अद्यावधिक र विश्वसनीय बनाउन थप योगदान पुग्नेछ ।
साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. काडमाडौले वि.सं. २०८१ फागुन महिनामा बजारमा ल्याएको कृतिमा उल्लिखित भावनाको पूर्णरुपले प्रतिनिधित्व गर्ने आकर्षक गातेपृष्ठ (कभरपेज) अनामिका गौतमले निकै मिहिनेतकासाथ तयार गर्नु भएको देखिन्छ । यही भदौ ९ गतेबाट यस पुस्तकको इबुक भर्सन पनि आइसकेको छ । यसलाई एम्बिसन गुरुको एपमार्फत अध्ययन गर्न सकिन्छ ।
कृतिकार डा.पाण्डेले जित्ने वा नायकको देवत्वकरण गरेर इतिहास भनेर स्तुती/प्रशस्ती लेख्ने प्रचलित धारको खिलाफमा उभिएर भुँइमान्छेलाई केन्द्रबिन्दु बनाएर गज्जबको कृति तयार गर्ने साहस गर्नु भएको छ । आँटकासाथ मिहिनेत गरेर तयार गरिएको यो कृति लेखकले जनअधिकार प्राप्तिका लागि जीवन बलिदान गर्ने सहिदहरु र सामाजिक रुपान्तरणका लागि योगदान गर्ने भुँइमान्छेहरुमा समपर्ण गर्नु भएको छ ।

गातेपृष्ठहरु र लेखकीय मन्तव्य (पूर्वाधार) को १२ पृष्ठबाहेक यो कृति ४०४ पृष्ठको रहको छ । पूर्वाधार अर्थात लेखकीयको प्रारम्भमा नै उहाँ लेख्नुहुन्छ ः– हिजोको विषम अवस्थामा जोखिम मोलेर आममान्छेले आश्रय (खाने, लाउने र बस्ने), सुरक्षा (पार्टी र जीवनको रक्षाको प्रत्याभूति) का साथै सम्पर्क ( राजनीतिक सम्पर्क र सम्बन्ध स्थापना) को जिम्मेवारी लिएर टोल र बस्तीहरुमा भूमिगत नेताको सारथि नबनेको भए आज न मुलुकमा लोकतान्त्रिक गणतन्त्र आउँथ्यो, न पार्टीको मान बँच्थ्यो, न त नेता कार्यकर्ताको सान रहन्थ्यो । यो कटुसत्यलाई कम्युनिष्ट पार्टी र त्यसका नेताहरुले आत्मसात् गर्नै पर्दछ ।
लेखकीय मन्तव्यकै सिलसिलामा उहाँ लेख्नुुहुन्छ ः जीवनको उचाइ र गहिराइ यात्राका विपरीत धु्रव हुन् । मेरो राजनीतिक निरन्तरताका चार दशक जीवनको उचाइ भर्ने क्रममा गए । तर, विगत केही वर्षदेखि म जीवनको गहिराइ खोज्न रमाउन थालें । विद्यावारिधीको अनुसन्धान शुरु भएपछि म उचाइको त्यो विन्दुबाट पछाडि फर्किएर हेर्न थालें । यहाँनेर लेखकले ठीकै गर्नुभयो जस्तो लाग्छ किनभने पहाड जतिसुकै अग्लो भएपनि भुइँ छाडेको क्षण अवश्यमेव पल्टिहाल्छ । सिंहावलोकन त झन् कम्युनिष्टहरुको अनिवार्य कर्म नै हो । यात्रा उत्साहकासाथ जतिसुकै अघि बढाइए पनि शुरु कहाँबाट कसरी गरिएको थियो भनेर बेलाबेलामा चिन्तन गरिएन भने यात्राको कुनै रस हुँदैन र अगाडिको बाटो सही भए÷नभएको ठम्याउन पनि मुश्किल हुन्छ । प्रवाह नियमित उपक्रम भए तापनि पुनरावलोकनलाई आकष्मिकताको रुपमा भए पनि अङ्गीकार गरेर यात्राक्रमलाई वरालिनबाट जोगाउनुपर्छ । अन्यथा यात्राले यथोचित तृप्ति प्रदान गर्दैन । र, अन्य बटुवालाई पनि यस्तो यात्राप्रति अरुची बढ्न सक्छ ।
४०४ पृष्ठको यस कृतिको भाग एकमा नेकपा स्थापना ः विकास र विस्तार, भाग दुईमा पुनर्गठन प्रक्रियामा कम्युनिष्ट आन्दोलन,को.के. गठनको निर्णय, भाग तीनमा नेकपा (माले) गठन र विकास, भाग चारमा पार्टी निर्माणको जगमा भुइँमान्छे, भाग पाँचमा पार्टीसँग जोडिएका केही अनुभव, केही अनुभूति, पृष्ठ नं. ३८१ –३८६ सम्म कृति तयार गर्न लिइएका सन्दर्भ सामग्री सम्बन्धी जानकारी र पृष्ठ ३८७ देखि ४०४ को बीचमा ७ वटा अनुसूचीहरु रहेका छन् ।
नेकपाका संस्थापकदेखि विभिन्न समयमा के.क.मा रहेका नेताहरुको पदसहितको नामावली, पार्टीले वेहोरेको आरोहावरोहको बिनापूर्वाग्रह तथ्यपरक विश्लेषण, पार्टीले तत्तत् समयमा पार गरेको नाजुक मोडको यथोचित चर्चा, मेची–महाकाली कृतिकार सशरीर उपस्थित भइ झर्काे नमानीकन सत्यापनको लागि सम्बन्धितहरुसँग गरिएको साक्षात्कार, पार्टी निर्माणको क्रममा राल्फा÷सङ्कल्प गीतिसमूह सम्बद्ध जनगायकहरुको अद्वितीय योगदानको प्रसङ्ग, महिलालाई माथिल्लो कमिटीमा बढुवा गर्ने सवालमा पुरुष नेताहरुले झिकेको बखेडा, विभिन्न स्थान र समयमा पार्टीका नेताबाट नगण्य मात्रामा नै भएपनि आश्रयदाता महिलाहरुमाथि भएको व्यभिचार, फरक मतकै कारण सहायोद्धामाथि भएको क्रुर व्यवहारको वर्णन र खासखास कालखण्डपछि केही नेताको अस्त र केहीको उदयको चर्चा एवं ६१ भन्दा बढी सन्दर्भसामाग्रीले कृतिलाई तथ्यपरक, विश्वसनीय, प्रमाणिक र पढूँपढूँ लाग्ने बनाएका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलन र त्यसमा वामपन्थीको योगदान, नेकपा (माले÷एमाले) को ऐतिहासिक पृष्ठभूमि र यसले छिचोलेका अप्ठेरा कुइनेटाप्रति रुची, चासो राख्ने अध्ययेता, अनुसन्धानकर्ता र राजनीतिमा समर्पित नेता, कार्यकताको लागि पुस्तक अत्यन्त उपयोगी देखिन्छ । लोकतान्त्रिक गणतन्त्रवादीहरुको निजी पुस्तकालयमा समयसमयमा पल्टाएर हेर्न अनिवार्य रुपमा हुनैपर्ने कृति हो, यो । वर्तमानको डीलमा उभिएर अतीत चियाउन र त्यसैको आलोकमा भविष्यको मार्ग पहिल्याउन अति उपयोगी सन्दर्भ सामाग्रीको रुपमा यस पुस्तकले यथोचित सहयोग गर्नेछ ।
वि.सं. २०३५ सालदेखिको कतिपय घटना र परिवेशको देखी, सुनी, भोगी जान्ने साक्षीमध्येको एक भएको कारणले यो कृति अध्ययन गर्दा अतीतको पुनःस्मरण हुनाको साथै विस्मृतिको गर्तमा पुरिन आँटेका कतिपय घटना एकाएक जुर्मुराएर सतहमा आए । डा.साहेब, यो कृति पढ्दा मज्जा आयो । सोचेभन्दा धेरै तृप्ति मिल्यो । एक पाठकको हैसियतले म निर्धक्क भन्न सक्छु ः रातामान्छेले पढ्ने एउटा रातो किताबले दिनुपर्ने जति जानकारी र सूचना यसले उपलब्ध गराउँछ । वामपन्थहरुले प्रयोग गर्ने जार्गन (शब्दाडम्बर) बाट मुक्त र जनजिब्रोमा भिजेको सलल बग्ने भाषाशैली, छोटा र मिठा वाक्य, बीचबीचमा पर्याप्त मात्रामा घटना सम्बद्ध स्थान, व्यक्ति विशेषका तस्बीर र उनीहरुको मर्मस्पर्शी भनाइले पुस्तक पढ्न थालेपछि झनझन् उत्सुका बढ्दै जान्छ र पढी नसकी पुस्तक थन्क्याउन सायदै संभव हुन्छ । उपल्लो तहका अतिरिक्त भुँइमान्छेले पनि रुचीकासाथ पढ्न सक्ने गरी सरल तवरले कृति लेख्ने आदरणीय कृतिकार विन्दा पाण्डे जो अक्सर आफूलाई विन्दा नेपाली भन्न रुचाउनु हुन्छ, उहाँ साधुवादको पात्र हुनुहुन्छ । फेरि एकपटक सलाम छ, टाकुरामा उभिइ सक्दा पनि भँुइमान्छे टड्कारो देख्ने र उनीहरुप्रति कृतज्ञ भाव राख्ने डाक्टर साहेबलाई ।
विन्दा पाण्डेकृत यस कृतिको पृष्ठ ८० मा काठमाण्डौमा थप सम्पर्क शीर्षक अन्तर्गत सिन्धुपालचोक, काभ्रेपलाञ्चोक, धादिङ्ग, नुवाकोट र मकवानपुरमा विष्णु चित्रकार, मिलन तुलाधर, खगेन्द्र सङ्ग्रौला,...................लगायत केदारनाथ प्रधानको माध्यमबाट पार्टी काम अघि बढेको उल्लेख छ । यस पृष्ठले कमरेड अमृतकुमार वोहराको साथ र सल्लाहमा प्रगतिशील इतिहासकार, साहित्यकार, काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख र नेपाल बुद्धिजीवी परिषद्, काभ्रेपलाञ्चोकका संस्थापक अध्यक्ष श्री केदारनाथ प्रधानको विशेष पहल र सक्रियतामा काभ्रेली माटोमा कोके हुँदै नेकपा (माले) को राजनीति मौलाउँदै गएको सत्यलाई पुस्तकले स्वीकार गरेको छ । क. अमृत बोहराको प्रमुख आतिथ्यमा विष्णु प्रभात, केदारनाथ प्रधान, विकास गौतम, शिवबहादुर देउजा, दलबहादुर श्रेष्ठ लगायत रहेको जिल्ला संगठन कमिटी गठन भएको थियो भन्ने विकास गौतमको भनाइलाई यसले पुष्टि गर्दछ ।
कृतिको पृष्ठ ३११–३२३ सम्म क्रान्तिका नाममा बिताएका ती क्षण; (उद्धव के.सी.को संस्मरण) शीर्षकमा उल्लेख भए अनुसार साँगा भैंसेपाटीका हरिकृष्ण श्रेष्ठ, यादव थापा, कृष्णप्रसाद बन्जारा, केदारनाथ प्रधान, शिला कतिला, श्रीखण्डपूरका पूर्ण श्रेष्ठ (संभवत उहाँ नाला) को हुनुपर्छ, पनौतीका माधव अधिकारी र तुयुकाजी ताम्राकार (कृतिमा तुइ भएको) को बासस्थान आश्रयस्थलको रुपमा प्रयोगमा आउँथ्यो भन्ने उल्लेख गरिएको छ । जीफन्टमा काम गर्दाका लामो समयको सहकर्मी र पार्टीप्रति अति इमान्दार र जुझारु श्री उद्धव के.सी.ज्यूबाट प्राप्त जानकारीलाई कृतिकारले यथावत् उल्लेख गर्नु अस्वभाविक होइन ।
पञ्चायती शासनकाल अर्थात वि.सं. २०३८ सालताका ९७ गा.वि.स. र १ नगरपालिका रहेको, त्यसपछि पटकपटक संख्यामा फेरबदल आएको यस जिल्लामा मण्डन, देउपूर, पलाञ्चोक, चुखाबेशी, दाप्चा, नमोबुद्ध, श्रीखण्डपूर, पनौती, कुशादेवी, ¥याले लगायतका स्थानमा नेकपा (माले) को गतिविधि उल्लेख्यरुपमा अघि बढेकोले ती स्थानका थुप्रै कमरेडहरु जस्तो प्रकाशबहादुर कायस्थ, दिनेश प्रधान, शालिग्राम वैद्य, चण्डेश्वरी प्रधान, दलबहादुर श्रेष्ठ, शुक्रलक्ष्मी, श्रेष्ठ, केदारनाथ नेपाल, विदुर सापकोटा विजय÷इन्दिरा अर्याल, मीरा ध्वँजू, डा. भानुभक्त थपलिया, गगन दहाल, रत्नप्रसाद जोशी, बोधराज त्रिपाठी, रामप्रसाद अधिकारी, शिवबहादुर देउजा, तेजबहादुर खड्का, कुलचन्द्र हुमागाँई, शिवप्रसाद भुर्तेल, गणेशदास उलक, रमेश कुवँर, भक्त स्याउला, भीमसेन बस्नेत, किशोर थापा, उद्धव थापा, कमला अधिकारी, माया तामाङ्ग, केपी सापकोटा, राजाराम सैँजू, डा. अम्बुभवानी कार्की, सहदेव थापा, रामहरि सुवेदी लगायतका तत्कालीन अन्य थुप्रै स्थानीय नेता एवंसमर्थक, शुभेच्छुकहरु अर्थात भुँइमान्छे आश्रय, सुरक्षा र सम्पर्कको भरपर्दाे सारथि हुनुभएकोले कृतिको सीमा र वाध्यतालाई ध्यानमा राख्दै उहाँहरुलाई कृतिमा स्थान दिन सक्दा काभ्रेपलाञ्चोक जिल्लाको सन्दर्भमा कृतिको सान्दर्भिकता, उपादेयता र ओज अझ बढ्ने देखिन्छ । पार्टी निर्माण र विस्तारको क्रममा इञ्चार्ज तथा सशक्त योद्धाको रुपमा अहोरात्र खट्ने विष्णु प्रभात, युवराज कार्की, माधव पौडेल, केशव बडाल, मेदिनी खरेल, शिरोसान्दाइ, दामोदर उपाध्याय, सुरेश कार्कीहरुको योगदान पनि भूल्न सकिदैन ।
कृतिकारले छुटेका सूचना थपका लागि आग्रह गर्नुभएको र काभ्रेपलाञ्चोक जिल्लाको सम्बन्धमा अतिकष्टपूर्ण घडिमा पार्टीको लागि मरिमेट्ने भुँइमान्छेको नाम (प्राविधिक कारणवश भनौं न सूचनाको अभावले) छुटेको र वि. सं. २०४३ सालको राष्ट्रिय पञ्चायतको सदस्यमा उमेद्वार उठाउने, जिल्ला पञ्चायतको उपसभापति र गाउँपञ्चायतको प्रधानपञ्च तथा उपप्रधानपञ्चमा निर्वाचित हुने काभ्रेपलाञ्चोक बासीहरुको नाम पनि उल्लेख भएको नदेखिएकोले सो उल्लेख हुँदा सुनमा सुगन्ध हुने देखिन्छ ।
विक्रमाब्दको ३० को दशकपछि नेकपा (माले) को राजनीतिक क्रियाकलाप अघि बढ्दा काभ्रेपलाञ्चोक जिल्लामा आश्रय (सेल्टर) प्रदान गर्ने, सुरक्षा दिने सम्पर्क सूत्रका आधार बन्ने कमरेडहरुको योगदान र नाम स्मरण गर्न र कृतिकारलाई फूटनोट उपलब्ध गराउन र काभ्रेपलाञ्चोक जिल्लामा नेकपा –माले÷एमाले) को तथ्यपरक इतिहास पर्गेल्न काभ्रेपलाञ्चोक जिल्लाका सम्बन्धित पक्षको पनि ध्यानाकर्षण हुन सक्यो भने आजको यो परिसंवाद क्रार्यक्रम सफल भएको मानिनेछ । यो कार्यक्रमले पार्टी आजको मात्र होइन, हिजोको पनि हो र भोलिको पनि हुनेछ । भोलिको लागि हिजो र आजको संस्थागत स्मरण अपरिहार्य हुन्छ, हुनेरहेछ भन्ने सन्देश प्रवाह गर्न सक्यो र यसतर्फ धेरथोर काम अघि बढ्न थाल्यो भने कार्यक्रम सार्थक भएको मानिनेछ ।
अहिले जहाँ जसको र जसरी भए पनि रजगज चलेको भए तापनि यो रजगज गर्ने विशाल मैदान जहाँनिया निरङ्कुश राणाशासन तथा एकदलीय पञ्चायती निरङ्कुश सत्ता र विस्तारवादी शक्तिसँग ज्यानको बाजी राखेर भिड्ने भुँइमान्छेको अभयदान हो । समय यही विन्दुमा नसकिने र कुनै बखत कोही नायक÷महानायक भएपनि अहङ्कारले चुलिएर आन्दोलनलाई अगाध माया गर्ने भुँइमान्छेलाई किनारा लाउँन खोज्दा आफ्नो अवशानको डोब त खनिन्छ नै यसका साथै महान् ध्येयका साथ अघि बढिरहेको न्याय, समानता र समृद्धिको आन्दोलन पनि अनाहकमा ठेसिन पुग्ने तथ्यलाई कृतिकारले कृतिमार्फत उदाहरण र प्रसङ्गसहित स्पष्ट पार्नु भएको छ ।
वामपन्थीहरु उपयोगवादमा माहिर हुन्छन् र खोलो तरिसकेपछि लौरो भूल्ने मात्र होइन कि राजनीति निर्मम हुन्छ, राजनीतिमा कोही कसैको स्थायी मित्र र शत्रु हुँदैन, जोगी हुन कसैले राजनीति गर्दैन, उसको पनि एक भोट, तिम्रो पनि एक भोट भन्ने भाष्य निर्माण गर्दै लौरोलाई हुत्याएर फ्यालिदिन्छन् भन्ने आरोपलाई चिर्दै केही समय ओझेल परे वा पारिए पनि इतिहास निर्माताको इतिहास केही गरी मेटिदैन ।
त्यसको जगेर्ना गर्ने, दस्तावेजीकरण गर्ने काम पनि त्यही अभियानमा हेलिएको कुनै न कुनै अर्काे भुँइमान्छे र आन्दोलनप्रति इमान्दार वामपन्थीले नै गर्छन भन्ने सन्देश दिन कृतिकार डा. विन्दा पाण्डे सफल हुनु भएको छ । यसका लागि साधुवाद टक्रयाउँदै भविष्यमा पनि उहाँबाट तथ्य, प्रमाणले परिपुष्ट यो भन्दा पनि उम्दा कृतिहरु सिर्जना होउँन र वामान्दोलनमा पाठ्य वा सन्दर्भ सामाग्रीको भण्डार भरिपूर्ण पार्न र यदाकदा दिशाविहीन हुन खोज्ने महान् अभियानलाई सहीमार्गमा हिडाउँन र काभ्रेपलाञ्चोकबासीले आफ्नो बारेमा पनि लेखिएको कृति भनेर गौरवबोध गर्र्न थप योगदान पुगोस् भन्ने कामना गर्दछु ।
( लेखक थापा यस जिज्ञासा नेपालका प्रमुख सल्हाकार समेत हुनुहुन्छ । वहाँ नेपाल बौद्धिक परिषद्, काभ्रेपलाञ्चोक जिल्ला समितिका अध्यक्ष समेत रहनु भएका केशव थापाले मिति २०८२/०५/१४ मा पनौतीमा आयोजित डा. विन्दा पाण्डेकृत आश्रय, सुरक्षा, र सम्पर्कका सारथि भुँइमान्छे र सन्दर्भ काभ्रेपलाञ्चोक जिल्ला विषयक परिसंवाद कार्यक्रममा प्रस्तुत गर्नु भएको कीर्ति समीक्षाको सम्पादित अंश )
-
Jigyasanepal