धनगढी — बाख्रा चोरीको आरोपमा भएको कुटपिटबाट कैलालीको गौरीगंगा नगरपालिका–११ निवासी ३० वर्षीय सुरेश भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार शनिबार राति भुललाई सामूहिक रूपमा कुटपिट गरिएको थियो।
प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा धर्म विक, विशाल विक, जंग भुल, प्रकाश भुल, र रमा रावललाई पक्राउ गरेको छ। मृतक सुरेश भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्य र राष्ट्रिय दलित पत्रकार संघका जिल्ला सहसचिव पनि थिए।
राष्ट्रिय दलित पत्रकार संघ कैलालीले घटनाको विरोध गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र घटनामा संलग्नलाई कानूनी कारबाहीको माग गरेको छ। प्रारम्भिक अनुसन्धानमा बाख्रा चोरीको आरोपलाई लिएर भुललाई सामूहिक कुटपिट गरिएको तथ्य खुलेको प्रहरी प्रवक्ता बोहराले जनाएकाछन्।
- Jigyasa media