Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश

  •   ५ महिना अघि | १२ जेष्ठ २०८३, मङ्लबार

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो दबदबा कायम राख्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै आरसीबी उपाधिनजिक पुगेको हो।

धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा भएको खेलमा आरसीबीले प्रस्तुत गरेको विशाल २ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरात ३ बल बाँकी छँदै १ सय ६२ रनमै समेटियो।

गुजरातका लागि राहुल तेवाटियाले संघर्षपूर्ण अर्धशतक प्रहार गर्दै ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। जस बटलरले २९ तथा ओपनर साइ सुदर्शनले १४ रन जोडे पनि अन्य ब्याटर आरसीबीका बलरसामु टिक्न सकेनन्।

गुजरातलाई सस्तैमा समेट्न आरसीबीका जाकोब डफी चम्किए। उनले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रनसिक सलाम र क्रुनाल पाण्ड्याले समान २–२ विकेट हात पारे। जोस हेजलवुडले पनि एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रनको विशाल योगफल तयार गरेको थियो। आरसीबीका कप्तान रजत पाटिदारले विस्फोटक ब्याटिङ गर्दै ९३ रनमा अविजित रहे। उनले मात्र ३३ बलमा ५ चौका र ९ छक्का प्रहार गर्दै मैदान तताएका थिए।

विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३–४३ रनको योगदान दिए भने देवदत्त पाडीक्कलले ३० रन थपे। गुजरातका लागि कागिसो रवाडा र जेसन होल्डरले समान २ विकेट लिए भने प्रसिद कृष्णले १ विकेट हात पारे।

पराजित गुजरात टाइटन्स भने प्रतियोगिताबाट बाहिरिएको छैन। अब उसले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एलिमिनेटरमा बुधबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदैछन्।

लगातार दोस्रोपटक फाइनल पुगेको आरसीबी उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने गुजरात दोस्रो अवसरमार्फत पुनः फाइनल पुग्ने आशामा रहेको छ।

  • Jigyasanepal

थप