नाइजेरिया – देशको दक्षिणी भागमा जारी राजनीतिक अस्थिरताका कारण राष्ट्रपति बोला टिनुबुले रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन्।
राष्ट्रपति टिनुबुले राष्ट्रिय प्रसारणमार्फत घोषणा गर्दै सन् १९९९ को संविधानको धारा ३०५ अन्तर्गत सङ्कटकाल लागू गरिएको जानकारी दिए। सो निर्णयसँगै रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र राज्यसभाका सम्पूर्ण निर्वाचित सदस्यहरू ६ महिनाका लागि निलम्बन गरिएका छन्।
तेल प्रतिष्ठानमा आक्रमण, सुरक्षा चुनौती थपियो
राजनीतिक विवादकै बीच, अज्ञात समूहहरूले राज्यका तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए। सोमबार राति र मङ्गलबारका बीचमा कम्तीमा दुई प्रतिष्ठानमा हमला भएको बताइन्छ।
राष्ट्रपतिले सुरक्षा प्रमुखहरूसँगको छलफलपछि आपतकालीन अवस्था घोषणाको आवश्यकता रहेको बताएका छन्। सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन टिनुबुले सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई प्रशासकको रूपमा नियुक्त गरेका छन्।
शान्ति पुनःस्थापनाको आशा
'यो निर्णयले राज्यमा स्थायित्व फर्काउने विश्वास लिएको छु,' राष्ट्रपति टिनुबुले भनेका छन्। सरकारको यो कडा कदमले राजनीतिक विवाद समाधान गर्नेछ कि झन् पेचिलो बनाउनेछ भन्ने विषयमा भने मिश्रित प्रतिक्रिया देखिएको छ।
- Jigyasa media