Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

ऐना अघि उभिएर

  •   २ वर्ष अघि | १ भदौ २०८१, शनिबार


✍🏼नवीन प्यासी


तिमी नहुनुले केही फरक नपार्दो रहेछ

उस्तै छ यो बाटो  

जहाँबाट सधैंको लागि तिम्रो पाइतालाहरु अस्ताए


उस्तै छ यो आकाश

जहाँबाट 

उसैगरी खस्छ झरी 

सायद तिमी यही भूगोलको कुनै कुनामा हात फिँजाएर

उसैगरी रुझाइरहेकी हौली 

कुनै मन्दिरको टुँडालमा कोरिन नसकेका तिम्रो गोप्य अंगहरु


उस्तै छन् यी ऋतुहरु

उसैगरी नियतिको परिधिमा फक्रन्छन् फूलहरु 

उसैगरी बज्छन् सर्याक-सुरुक गरेर भूइँमा खसेका पातहरु 

मैले तिमी नजिक आएको महसुस गर्न नपाएको मात्र हो


तिमी नहुनुले केही फरक नपार्दो रहेछ 

सबैसबै उस्तै छन्, म उस्तै छु 

फेरिएको त निर्मम क्यालेन्डरहरु मात्र छन्

र पनि हरेक दिवसहरु, नयाँवर्षहरु, जन्मोत्सवका दिनहरु उस्तै छन् 

बस् ती दिनहरुको बाटो भएर तिम्रो मुस्कान नफर्किएको मात्र हो


तिमी नहुनुले ममा भने केही अर्थ राख्दो रहेछ 

जस्तो आदतहरु मौसमी भएका छन्

निद्राहरु कतै महा शुन्यताको दरबारमा चाकरी गर्न गएका छन् 

हाँसोहरु कुनै पागलखानाको संवेदनाहीन कोठामा भर्ति भएका छन्

जाँगरहरु जिन्दगीको सुनियोजित दुर्घटनापछि कोमामा गएका छन्


र पनि उस्तै छ

सिसाको कारागारभित्र कैद हामी दुईको तस्बिर 

उस्तै छन् तिमीले दिएका 

कलेजी मफलरहरु, गुलाफहरु...

उस्तै छ तिम्रो नाममा लेखेको कविता 

जुन जविताले तिमी नहुनुको क्षतिपूर्ति तिरिरहन्छ हरक्षण 


कुनै दिन हराउने छ 

आँसु पिएर मोटाएको सिरानीबाट यो कविता

या चोरी हुनेछ

या जानाजान हराउनेछु/चोरी गराउनेछु

म स्वयम् पनि म जस्तो हुने छैन 

त्यसबेला तिमी नहुनुले झनै  केही फरक पार्ने छैन 

बरु फरक त 

तिमीप्रतिको समर्पणको प्रतिकुलतामा 

अनुकुलताको दियो जलाउने कोही नहुनुले फरक पार्नेछ


थाहा त अवश्य नै होला तिमीलाई 

आदतहरु फेरिने गर्छन्/प्राथमिकताहरु फेरिने गर्छन्

जस्तो तिम्रो आदतबाट म हटेँ/तिम्रो प्राथमिकताबाट म छुटेँ  

यो दुनियाबाट म छुट्नेछु/तिमी पनि छुट्नेछौ 

छुट्नुप्रति एकरत्ति गुनासो छैन

छुट्न त स्वयम् यो दुनिया नै दुनियाबाट छुट्नेछ एक दिन 

साभार : गज्जब  साप्ताहिक 


  • Jigyasa media

थप